ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८० प्रतिशत पूँजीगत खर्च गर्ने प्रदेश–१ सरकारको दाबी

Jun 17, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

असार २, विराटनगर । चालू आर्थिक वर्षभन्दा रू. ७ अर्ब बढीको बजेट सार्वजनिक गरेको प्रदेश–१ सरकारले आगामी वर्ष ८० प्रतिशत भन्दाबढी पूँजीगत खर्च गर्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । मन्त्रालयले सोमवार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री आङ्बोले आर्थिक वर्षको प्रारम्भदेखि नै बजेट खर्च शुरु हुने बताए ।

प्रदेश सरकारसँग बजेट कार्यान्वयनका लागि न्यूनतम कार्यालयहरु र थोरै भएपनि कर्मचारीको टिम रहेकोले बजेट कार्यान्वयन अगाडि बढाउन समस्या नरहेको उनले बताए । चालू आर्थिक वर्षमा पूँजीगत बजेट अपेक्षा गरेभन्दा कम खर्च हुँदा प्रदेश सरकारसँग झण्डै रू. ६ अर्ब नगद मौज्दात रहेको थियो । त्यसलाई आगामी वर्षको योजनामा समायोजन गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीले चालू वर्षको झण्डै आधा समय बजेट खर्च हुन नसक्ने अवस्था रहँदा पनि अन्तिमसम्ममा ५० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने जिकिर गरे ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास तर्फ रू. २० अर्ब हाराहारीमा बजेट विनियोजन गरेको छ । पूर्वाधार विकासले उत्पादन, रोजगार, आर्थिक समृद्धिको आधार तयार पार्ने सरकारको विश्वास छ । प्रदेश योजना आयोगले विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न आगामी वर्ष रू. ५५ अर्ब बजेट आवश्यक पर्ने बताएको थियो । आन्तरिक स्रोतको न्यूनता र योजना कार्यान्वयनका लागि आवश्यक संयन्त्रको पूर्णता नहुँदा सरकारले क्षमतामा आधारित भएर मात्र बजेट ल्याएको मन्त्री आङ्बोले बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रू. ४२ अर्ब २० करोड ४ लाख १२ हजारकोे बजेट ल्याएको छ । चालू खर्चतर्फ रू. १८ अर्ब २० करोड ४ लाख १२ हजार र पूँजीगततर्फ रू. २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरेको छ । अन्तर सरकारी हस्तान्तरणका लागि रू. ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ । बजेटको स्रोतमध्ये आन्तरिक राजस्व रू. ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजस्व बाँडफाँटबाट प्राप्त हुने रू. १० अर्ब ५२ करोड, अनुदानबाट रू. २१ अर्ब २१ करोड व्यहोरिनेछ । चालू आर्थिक वर्षको खर्च हुन नसकेको बजेट रू. ६ अर्ब ६१ करोड रहने पूर्वानुमान छ । चालू आर्थिक वर्ष सकिन १ महिनामात्र बाँकी रहँदा प्रदेश–१ को बजेट खर्च २९.४० प्रतिशत मात्र भएको छ । चालू आवका लागि प्रदेश सरकारले रू. ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा जेठसम्ममा जम्मा रू. १० अर्ब ५१ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार पूँजीगततर्फ रू. ५ अर्ब १६ करोड ९३ लाख र चालूतर्फ रू. ५ अर्ब ४३ करोड ९१ लाख खर्च भएको छ । प्रदेश सरकारले चालूतर्फ ३०.७ प्रतिशत बजेट खर्च गरेको छ भने पूँजीगततर्फ २८.७५ प्रतिशत मात्र खर्च गरेको छ । सबैभन्दा धेरै बजेट विनियोजन गरिएको भौतिक पूर्वाधारमा १९.५३ प्रतिशत खर्च भएको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकारले कम्तिमा ६० प्रतिशत पूँजिगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)