ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्षमता भन्दा तेब्बर यात्रु राख्न थालेपछि यात्रा कष्टकर

Jun 17, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार २, डोल्पा (अस) । एक दशक अगाडी डोल्पाबाट नेपालगन्ज, सुर्खेतमा गई पिठ्यूयमा नुन र खाद्यान्न बोकेर दुई महीना पछि घर पुग्ने दिन त अव पुरानो भइसक्यो । त्यो दिन गएता पनि डोल्पाबासीले यातायातका साधनको हकमा भने त्यस्तै समस्या बेहोर्दै आएका छन् ।

एक त थोत्रा जिप त्यसमाथि मनोमानी भाडा, अनि क्षमता भन्दा तेब्बर यात्रु यहाँका जिप व्यवसायीको दैनिकी नै भएको छ । यसरी जिप चलाउन थालेपछि यस क्षेत्र भएर आवत जावत गर्ने यात्रुहरुको यात्रा जोखिमपूर्ण त छ नै यसतर्फ अहिलेसम्म कुनै सरोकारवाला निकायको ध्यान नजानू विडम्वनापूर्ण छ । ठाउँमा–ठाउँमा प्रहरीको चेक पोष्ट नहुँदा यातायात व्यवसायीले यात्रुलाई भेडा बाख्रा हुले झैं गर्दा यात्रा कष्टकर भएको स्थानीय मुड्केचुला गाउँपालिका– ६ शुरका रविन्द्र सिंहले बताए ।

डोल्पामा सञ्चालनमा रहेका यस्ता यातायात व्यवसायीले दत्र्ता नगरी सवारी साधनहरु चलाएको पाइएको छ ।  जाजरकोट सदरमुकाम देखि डोल्पाको दुनै सम्म सञ्चालनमा रहेका सवै सवारी साधनमा यात्रीलाई सेवा भन्दा सास्ती दिने गरेको यात्रुहरुको गुनासो छ । सडकको बीच बीचमा पुल , पुलेशा नहुँदा आधा दर्जन ठाउँमा झर्ने र गाडीमा चढ्दा अर्को सास्ती त छँदैछ ।

यातायात व्यवसायीको सिण्डिकेटका कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । प्रहरी चौकी भएको ठाउँमा १०० मिटर अगाडी यात्रुलाई झारेर हिंड्न लगाई पुनः सवारीमा चढाएर यात्रा गर्न वाध्य पार्ने गरिएको छ । धुलाम्य कच्ची सडकका कारण एक ठाउँबाट अर्को ठाउँमा जाँदा मानिस नै नचिनिने गरी पुग्ने गरेको अर्का ठुलिभेरी नगरपालिका–५ का रामबहादुर रोकायले बताए ।

११८ किलोमिटर यात्रा गर्दा रू.२ हजार ५०० भाडा तिरेर पनि सजिलोसँग यात्रा गर्न नपाएको यात्रुको गुनासो छ । यहाँका जिपको अगाडीको तीन सिटमा चार जना यात्रु राख्ने गरिन्छ भने चालक रहने सिटमा चार जना राख्ने गरिएको भुक्तभोगीहरु बताउँछन् । त्यसपछि जिपको छतमा कम्तिमा पनि पाँच जना भन्दा बढी राख्ने गरिएको छ । उता जिल्ला प्रहरी कार्यालय जाजरकोट र डोल्पाले जथाभावी यात्रु बोक्न कडाई गरेता पनि कार्यान्वयन भएको देखिदैन ।

यस सडक खण्डमा छ ओटा भन्दा बढि पुल निर्माण हुन बाँकी छन् । नलगाड नदी, खोलेखेत, साप्नेखेत, खमाउरेखोला, वडाखोला, त्रात्रगाड, ताँसुगाड, तल्लु स्थित भेरी नदी, डोल्पाको खदाङ, त्रिपुराकोट, छलगाड, रुपगाड लगायतका ठाउँमा पुल निर्माण कार्य शुरु नै भएको छैन । सरकारले यो वर्ष सडक दुनै सम्म पुर्याउने भनेर उद्घोष गरेपनि पुल निर्माण नभई डोल्पामा सहज रुपमा यात्रा गर्न पाउने सम्भावना देखिएको छैन ।

गैरकानुनी तवरले सञ्चालन भएका जिपहरु दर्ता प्रक्रियामा ल्याएर सञ्चालन गर्ने हो भने मात्रै यात्रुमैत्री यातायात हुने देखिन्छ ।  नत्र नेपाली सेनाले निर्माण कार्य जारी राखेको यस सडक खण्डको स्तरोन्नती र पुल निर्माण नहुँदा सम्म यहाँका नागरिकले यात्रामा दुःख पाईरहने अवस्था रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)