ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अलैंचीका बोट मर्न थालेपछि किसान चिन्तित

Jun 25, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १०, खोटाङ । अलैंचीको भाउ ओरालो लागिरहेका बेला बोट नै सुक्न थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । पात पहेंलो हुने, सुक्ने, कालो छिर्का लाग्ने, फुर्के हुने, गुभा कुहिनेजस्ता रोगले बोट नै सुक्न थालेको कृषकले बताएका छन् । यसअघि राम्रो उत्पादन हुँदै आएको जिल्लाका कतिपय किसानले लगाएको अलैंचीको बगान अहिले रोगले सुकेर सोत्तरजस्तै बनेको छ । विशेषगरी केपिलासगढी गाउँपालिकाको सुङ्देल, फेदी, खार्ताम्छा, बास्पानी, ऐंसेलुखर्क गाउँपालिकाको बाकाचोल, राखाबाङ्देल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, नेर्पा, दोर्पाचिउरीडाँडा, साकेला गाउँपालिकाको रतन्छा, बाँझेच्यानडाँडा, मात्तिम, खोटेहाङ गाउँपालिकाको सावाकटहरे, लिकुवापोखरी, इन्द्रेणीपोखरी, चिप्रिङ, जन्तेढुंगा गाउँपाालिकाको चिसापानी, डम्वर्खुशिवालय लगायत ठाउँमा लगाइएका अलैंचीमा रोग देखिएको हो । सबैभन्दा बढी जिल्लाको केपिलासगढी र ऐंसेलुखर्क गाउँपालिकाका उत्तरी क्षेत्रमा लगाइएको अलैंचीमा रोगको समस्या देखिएको अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष वीरबहादुर तामाङले बताए । ‘धान, मकै, कोदो, गहुँलगायतका अन्नबाली तथा नगदेबाली उत्पादन हुँदै आएको उर्बर खेतबारी मासेर व्यावसायिक रुपमा अलैंचीखेती लगाइएको छ’, उनले भने, ‘केही वर्षयता देखिएको रोगका कारण अलैंची उत्पादनमा दोब्बर–तेब्बरका दरले उत्पादन घट्न थालेपछि दोधारमा परेका छौं ।’ जिल्लामा विसं २०६५ मा अलैंचीमा सामान्य समस्याका रुपमा देखा परेको पात सुक्ने, पातमा छिद्रा पर्ने, बोट पहेंलो हुने, बोट सुक्ने, मुना नआउने, खुम्ले किरा र पहेंलो कमिला लाग्नेलगायतका समस्या २०६७ पछि बढेको किसानको भनाइ छ । करीब दुई दशकदेखि अलैंची खेती हुँदै आएको उत्तरी क्षेत्रमा देखिएको समस्या पछिल्लो समय दक्षिणी क्षेत्रमा पनि देखा परेको छ । अन्य बालीको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले केही दशकयता जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुनेक्रम बढ्दो थियो तर, रोगको समाधान नभए अलैंचीको आम्दानी कथामा सीमित हुने अवस्था आएको छ । यसअघिसम्म भाउ घटे पनि जिल्लामा हरेक वर्ष अलैंची निकासीबाट करोडौं रकम भित्रिने गरेको थियो । १० ओटा स्थानीय तह रहेको जिल्लामा कतिपय स्थानीय तहका एउटै वडाबाट करोड रुपियाँभन्दा बढीको अलैंची निकासी हुने गरेको थियो । अलैंचीमा रोग देखा परेपछि बिरुवा खरीद गर्ने किसानको संख्यासमेत कम भएको ऐंसेलुखर्क गाउँपालिकाका अगुवा कृषक किशोर राईले बताए । विगत १० वर्षदेखि अलैंचीलगायत विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका बेर्ना उत्पादन गरेर विक्री गर्दै आएका राईको कृषि तथा वन नर्सरीमा अहिले अलैंचीको बिरुवा हुर्किएर खेर जाने अवस्थामा छ । अलैंचीका अगुवा किसानले भने प्राविधिक ज्ञानको अभावले अलैंची बगानमा रोगको प्रकोप देखिएको बताएका छन् । हाल पश्चिम वा दक्षिण मोहडा फर्केको ठाउँमा रोपिएका र बलौटे माटोमा लगाइएका अलैंचीमा बढी समस्या देखिएको छ । भूगोलअनुसार अलैंचीको जात छनोटमा ज्ञान नहुँदा पनि समस्या निम्तिने गरेको अगुवा किसानको अनुभव छ । लेकमा फल्ने अलैंचीलाई बेंसीमा रोप्दा वा बेंसीमा फल्ने अलैंचीलाई लेकमा लगाउँदा पनि व्यवसाय नफष्टाउने गरेको खुप्तुङ कृषि फार्म इन्द्रेणी पोखरीका सञ्चालक इन्द्र नारथुंगेले बताए । जिल्लाका ३४ भन्दा बढी स्थानमा उत्पादन हुने अलैंची भोजपुर, धनकुटा, धरान र झापाको बिर्तामोड हुँदै भारत निकासी हुने गरेको छ । मसला, जडीबुटी तथा औषधिका रुपमा प्रयोग गरिने अलैंचीको खेती जिल्लाको १ हजार १५० हेक्टरमा गर्ने गरिन्छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)