असार १०, धरान(अस) । सुनसरी उद्योग वाणिज्य संघको हालै भएको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण भएको छ ।
सोमवार आयोजित पद हस्तान्तरण कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक डा. राजेन्द्र शर्माले निर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाएका थिए भने निर्वतमान अध्यक्ष राजेन्द्र साहले नवनिर्वाचित अध्यक्ष गिरिधारी सापकोटालाई पद हस्तान्तरण गरेका थिए । जेठ २७ गते सम्पन्न संघको निर्वाचनबाट अध्यक्षमा गिरीधारी सापकोटा र अन्य १९ जना सदस्यहरु चुनिएका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सापकोटाले प्रदेश सरकारलाई साना औद्योगिक ग्राम बनाउन आग्रह गरे । साना तथा घरेलु उद्योगहरु सञ्चालनमा धेरै समस्या भएको बताउँदै उनले औद्योगिक ग्राम भए सञ्चालनमा सहज हुने बताए । उनले भने, ‘थुक्पा, पाउरोटी उद्योग हुँदा छिमेकीले विरोध गर्छन्, त्यसैले त्यस्ता उद्योगहरुको लागि औद्योगिक ग्राम बनाउनुपर्छ, सरकारले साना उद्योग, व्यवसायलाई प्राथमिकता दिनुपर्छ ।’
सापकोटाले धरानमा रात्रीकालिन बजार सञ्चालन गर्न आफ्नो पहल हुने पनि बताए । स्थानीय सरकार, प्रदेश सरकार र प्रहरी, प्रशासनसँग समन्वय गरेर रात्रीकालिन बजार सञ्चालन गर्न आवश्यक भएको उनको भनाई थियो । प्रमुख अतिथि एवं प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले नवनिर्वाचित पदाधिकारीहरुलाई राजनीतिबाट मुक्त भई स्वार्थभन्दा माथि उठेर उद्योगी, व्यवसायीको हितमा काम गर्न सुझाव दिए ।