चियाको गुणस्तर सुधार्न परीक्षण केन्द्र निर्माण हुँदै
Jun 27, 2019
 
प्रदेश समाचार
कोशी प्रदेश
असार १२, इलाम । चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ ।
मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो । दुई वर्षभित्र सम्पन्न हुने केन्द्रको बहुतले भवन निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा रू.५ करोड विनियोजन गरिएको छ । सो कार्यमा साझेदारी गर्न आवश्यक बजेट विनियोजन गर्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए ।
उनले भने, ‘प्रदेश सरकारसँग हामीले साझेदारी गर्नुपर्ने आवश्यक रकम हामी विनियोजन गर्छौं ।’ रू. २६ करोडको लागतमा निर्माण हुने केन्द्रको भवनका लागि प्रदेश सरकारको ८० र नगरपालिकाको २० प्रतिशत साझेदारी हुनेछ ।
परीक्षण केन्द्र निर्माण भएपछि इलामको अर्थोडक्स चियाको बजार प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास चियाको किसानको छ । परीक्षण केन्द्रको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन स्टिमेट तयार भइसकेकाले निर्धारित मितिभित्र नै निर्माण सकिने नगरप्रमुख राईले बताए ।
चियाको प्रांगारिक परीक्षण पनि गरिने
यहाँ निर्माण हुन लागेको चिया परीक्षण भवनमा चियाको प्रांगारिक परीक्षणसमेत गरिने जनाइएको छ । धेरै झञ्झट गरेर ठूलो मूल्यमा विदेश लगेर चियाको प्रांगारिक परीक्षण गर्ने काम पनि यो भवन निर्माणपछि अन्त्य हुने भएको छ ।
सर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार प्रांगारिक परीक्षणको सबै प्रक्रिया यहीं गरिने र अन्तिम नतिजाका लागि मात्र विदेश पठाइनेछ । योसँगै यहाँ चियाको सूचना केन्द्रसमेत निर्माण गरिने छ ।
चियासम्बन्धी जानकारीमूलक विषयको सोधखोजका लागि यहाँ सूचना केन्द्र निर्माण गर्न लागिएको हो । चिया व्यवसायी सोमन योल्मोले बहुउपयोगी प्रयोगका लागि निर्माण हुने यो भवन चियाको बजारीकरणमा देखिएको समस्या हल हुनसक्ने बताए । रासस