असार १५, सुर्खेत (अस) । पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली बल्ल दैलेख जिल्ला आइपुगेको छ । चिनियाँ सरकारको चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागको टोली पेट्रोलियम पदार्थको अन्वेषण गर्न आएको हो ।
चाइना जिओलोजिकल सर्भेका वरिष्ठ भूगर्भविद् ट्यान फुएन नेतृत्वको टोली आएको छ । यसअघि वैशाख १८ गते चिनियाँ टोलीले अन्वेषणको मिति तोकेको थियो । टोली आउन ढिलाई भएपछि वैशाखको अन्तिम साता मिति सारिएको थियो ।
जमिनमुनिबाट पेट्रोलियम ग्याँस निस्किरहेको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम अन्वेषण यो नै पहिलो औपचारिक रुपमा शुरु भएको मानिने छ । नेपाल–चीनबीच लामो छलफलपछि चीनको विशेषज्ञ टोली अन्वेषणका लागि यहाँ आएको हो । टोलीले दैलेखका सिरिस्थान, नावीस्थान, कोटिला, धुलेश्वरलगायत क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोलीले विस्तृत अध्ययन, अनुसन्धान गर्ने छ ।
यसैवीच, उद्योग तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन, अनुसन्धान गरि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागिएको बताएका छन् । चिनियाँ टोलीसहित पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख जानेक्रममा आइतवार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री यादवले विस्तृत अध्ययन, अनुसन्धानपछि दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन प्रक्रिया शुरु गरिने जनाए ।
‘विस्तृत परियोजना प्रतिवेदनपछि पेट्रोलियम खानी क्षेत्रको आधारभूत पूर्वाधार निर्माणको काम शुरु हुन्छ,’ उनले भने, ‘प्रतिवेदनले व्यवसायिक रुपमा के, कति उत्पादन लिन सकिन्छ भन्ने बारेमा स्पष्ट भएपछि त्यहीं अनुरुपको काम अगाडि बढ्छ ।’