असार १७, विराटनगर(अस) । धान उत्पादनका लागि उर्वरभूमि मानिने प्रदेश १ मा मानो रोपेर मुरी उब्जाउने समयको असार मध्यसम्म १७ दशमलव ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
प्रदेश १ मा धानखेती हुने क्षेत्रफलमध्ये १७ दशमलव ४१ प्रतिशतमा मात्र धान रोपाइँ भएको हो । धानखेतीका लागि उर्वरभूमि मानिने प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टरमा धानखेती हुँदै आएकोमा असार १५ सम्म ५९ हजार ३५२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले बताएको छ ।
हालसम्म सबैभन्दा बढी पहाडी जिल्ला भोजपुरमा धान रोपाइँ भएको छ । भोजपुरमा १ हजार ८९२ हेक्टरमा धानखेती हुँदै आएकोमा हालसम्म ५५ प्रतिशतमा धान रोपाइँ भएको छ । त्यस्तै सबैभन्दा कम ताप्लेजुङमा तीन प्रतिशतमात्र धान रोपाइँ भएको छ । ताप्लेजुङमा ८ हजार ७३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि निर्देशनालयका बरिष्ठ कृषि प्रचार अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिए ।
त्यसैगरी झापामा ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुनेमध्ये २२ प्रतिशत, इलाममा १४ हजार ८१५ हेक्टर क्षेत्रफलमध्ये २१ प्रतिशत, पाँचथरमा ९ हजार २०३ हेक्टर क्षेत्रफलमध्ये ८ प्रतिशत, मोरङमा ८३ हजार ३०० हेक्टर क्षेत्रफलमध्ये १७ प्रतिशत धान रोपाइँ भएको छ । केही वर्ष अघि मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहर बगाउँदा लोहन्द्रादेखि दक्षिण केरौनसँगै रंगेलीसम्म र कानेपोखरी–रंगेली रोडको पश्चिमका करीब १० हजार हेक्टर धानखेती गर्न समस्या भएको निर्देशनालयले बताएको छ ।
सुनसरी मोरङ सिंचाइ आयोजनाले बाढीले भत्काएको नहरको मर्मत नगरेका कारण पानीको अभावमा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफलमध्ये १३ प्रतिशतमात्र धान रोपाइँ भएको छ । उच्च पहाडी तथा मध्य पहाडी जिल्लामा निरन्तररूपमा फाट्टफुट पानी परिरहेकाले तराईका जिल्लाभन्दा बढी धान रोपाइँ भएको हो ।
त्यस्तै धनकुटामा ७ हजार ९५० हेक्टर क्षेत्रफलमा धान खेती हुनेमध्ये ३ प्रतिशत, तेह्रथुममा १० हजार १७५ हेक्टर क्षेत्रफलमध्ये ७ प्रतिशत, संखुवासभामा १३ हजार ८५१ हेक्टर क्षेत्रफलमध्ये १० प्रतिशत, उदयपुरमा १३ हजार ३८० हेक्टरमध्ये ७ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी खोटाङमा १२ हजार ८९८ हेक्टरमध्ये ७ प्रतिशत, ओखलढुंगा ४ हजार ४०३ हेक्टरमध्ये ५ प्रतिशत मात्र धान रोपाइँ भएको निर्देशनालयले बताएको छ ।
धान उत्पादनका लागी उपयुक्त मानिने मोरङ, सुनसरी, झापामा पर्याप्त मात्रामा वर्षा नभएका कारण रोपाइँ ढिलो हुँदा धान उत्पादनमा कमी आउने अनुमान छ । सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरमा रोपाइँका बेला आवश्यक मात्रामा पानी नछाड्नु र मनसुनसमेत शुरु नभएका कारण धान रोपाइँमा ढिलाइ भएको हो ।
धानखेतीका लागि सिंचाइ पर्याप्त नहुँदा सबैभन्दा बढी धान उत्पादन हुने पूर्वी तराई क्षेत्रमा उल्लेख्य मात्रामा धान रोपाइँ हुन सकेको छैन । बरिष्ठ कृषि प्रचार अधिकृत डाँगीले केही दिनभित्रै मनसुन सक्रिय हुने सम्भावना रहेकाले साउन महिनाभरिमा खेतीयोग्य जमीनमा रोपाइँ हुने अपेक्षा गरिएको बताए ।