ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निकासी पुर्जी नपाउँदा करोडौं मूल्यको सेतक चिनी गोदाममा

Jul 6, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २१, जाजरकोट । समयमा निकासी पुर्जी नपाउँदा करीब रू. ९ करोडको सेतक चिनी जाजरकोटमै थन्किएको छ । प्रतिक्विन्टल रू.६० हजारमा विक्री हुने करीब १ हजार ५०० क्विन्टल सेतक चिनीले छुट पुर्जी नपाउँदा जाजरकोटमै थन्किएको हो । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नबनाएको र सामुदायिक वनको कार्य योजना हालसम्म स्वीकृत नभएका कारण जिल्लाबाहिर निकासीका लागि व्यापारीले छुट पुर्जी पाउन नसकेका हुन् । छुट पुर्जी नपाउँदा लाखौं लगानी गरेर सेतक चिनी खरीद गरेका व्यापारी चिन्तामा परेका छन् । वर्षातको समयमा संकलित सेतक चिनी कुहिने डर उनीहरुलाई छ । डिभिजन वन कार्यालयले भदौअघि छुट पुर्जी दिन सकिने अवस्था नभएको बताएपछि व्यापारीहरु निराश छन् । जिल्लाका विभिन्न जंगलमा पाइने सेतक चिनी संकलन तथा निकासी पुर्जीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा गत कात्तिकमै व्यापारीले करीब ६ हजार क्विन्टलको अनुमति मागेका थिए । सेतक चिनी पाइने सामुदायिक तथा राष्ट्रिय वनको कार्ययोजना र इआइए नभएपछि डिभिजन वन कार्यालयले संकलन तथा निकासी पुर्जी दिन सकेन । बारेकोट गाँउपालिकाले वन ऐन विपरीत ६५ जना व्यापारीबाट रु दुई लाख धरौटी लिएर संकलन पुर्जी दियो । गाँउपालिकाकै अनुमतिका आधारमा व्यापारीले स्थानीय बासिन्दालाई सेतक चिनी संकलन गर्न लगाए । करीब ६ हजार क्विन्टल सेतक चिनी संकलन भएको व्यापारीको भनाइ छ । उक्त सेतक चिनी निकासीका लागि करीब २०० व्यापारीले डिभिजन वन कार्यालयमा निवेदन दिए । इआइए गरेका कारण ५०० क्विन्टलसम्मको संकलन तथा निकासी पुर्जी दिने अधिकार डिभिजन वन कार्यालयले पायो । ५०० क्विन्टल भन्दा बढीको अनुमति दिन इआइए गर्नुपर्ने प्रावधान छ तर कार्यालयले हालसम्म इआइए गर्न सकेको छैन । एक्सन फर इञ्जिनीयरिङ सोलुसनले जाजरकोटका वनको वातावरणीय प्रभाव मुल्यांकनको जिम्मा लिएकोे थियो तर समयमा उक्त कार्य नगर्दा समस्या देखिएको हो । व्यापारीले डिभिजन वन कार्यालय, जाजरकोटबाट समयमा संकलन तथा छुट पुर्जी दिन नसक्दा सरकारलाई करोडौंको राजस्व घाटा लागेको छ । असोजको अन्तिम सातादेखि मङ्सिरको पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न पाटनमा बहुमूल्य सेतक चिनी खन्ने गरिन्छ । जमीनमुनी सखर खण्ड जस्तो गरी फलेका दाना खनेर निकाल्ने र निकाली सकेपछि पकाएर सुकाउनुपर्छ । यसरी तयार पारिएको सयौं क्विन्टल सेतक चिनी विभिन्न नाकाबाट चिनतर्फ निकास हुने गरेको छ । सामुदायिक वनको कार्य योजना स्वीकृति नभएको र वातावरणीय प्रभाव मूल्यांकन नभएका कारण सेतक चिनी लगायतका जडिबुटीको संकलन तथा निकासी पुर्जी दिन नसकिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईंले जानकारी दिए । विभागबाट कार्ययोजना स्वीकृति नहुँदासम्म कुनै प्रकारको पुर्जी दिन नमिल्ने भएकाले व्यापारीले उक्त पुर्जी पाउन नसकेको उनको भनाइ छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)