ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा उत्पादित टिमुरका बिरुवा ४० जिल्लामा निर्यात

Jul 7, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २२, सल्यान(अस) । सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । जिल्लामा उत्पादित टिमुरका विरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो । जिल्लामा उत्पादन भएका टिमुरका विरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले माग बढिरहेकाले जिल्लाका विभिन्न स्थानहरुमा विरुवा उत्पादनका लागि नर्सरी स्थापना गरिएको छ । विरुवाको माग बढ्न थालेपछि व्यावसायिक रुपमा टिमुरको नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिरहेको कपुरकोट गाउँपालिका–३ का तिलक शर्माले जानकारी दिए । ‘हामीले उत्पादन गर्ने विरुवाहरु गुणस्तरीय भएकैले ४० जिल्लाबाट ३ लाख बढी विरुवाको माग आएको छ माग अनुसार विरुवा पाउन पनि गाह्रो छ’, शर्माले भने । उनले उत्पादन गरेका टिमुरका विरुवाहरु संखुवासभादेखि बैतडीसम्मका ४० बढी जिल्लाबाट माग आएपनि मागअनुसारको आपूर्ति गर्न नसकेको बताए । ‘अहिले मसँग १ लाख ५० हजार मात्रै विरुवा छ, माग ३ लाख ओटा छ, अन्य विरुवा उत्पादकसँग समन्वय गरेर भएपनि पुर्‍याउँछु’, शर्माले भने । टिमुरका प्रति विरुवा ४० का दरले विक्री भइरहेको बताउने शर्माले वार्षिक रू. १५ देखि २० लाखसम्म आम्दानी गर्दै आएका छन् । टिमुर तथा फलफुलका विरुवा उत्पादन गर्दै आएका छत्रेश्वरी गाउँपालिका–२ बुरासेका तेजबहादुर योगीलाई पनि विरुवा पुर्‍याउन नसकेर हैरानी खेप्नुपरेको छ । नर्सरीमा उत्पादन भएका विरुवाहरु मुख्य मौसम नआउँदै विरुवाहरु सकिएपछि गुनासो गर्नेहरुको संख्या धेरै रहेको छ । ‘नर्सरीमा २ लाख बढी विरुवाहरु उत्पादन गरेको थिए असारको पहिलो हप्ता नै सकियो अहिले फोन गर्नेहरुको ताँती छ, विरुवा छैन मागअनुसारको पूर्ति हुन सकिरहेको छैन’, योगीले भने । समुन्द्र सतहदेखि १ हजार ८०० मिटर उचाइमा विरुवा उत्पादन गरिने भएकाले पनि माग बढेको उनको भनाइ छ । प्रतिविरुवा रू. ५० देखि ६० सम्ममा विक्री गर्दै आएका योगीले वार्षिक रू.१० देखि १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । ‘टिमुरको उमार शक्ति १० देखि १५ प्रतिशत हो तर हामीले ६० देखि ७० प्रतिशतसम्म विरुवा उमारेको छौं’, योगीले भने । टिमुरका विरुवाहरु खरीद गर्न ग्राहकरु घरमै आउने भएकाले बजारीकरणको समस्या नभएको बागचौर नगरपालिका–९ का ज्ञानबहादुर डाँगीले बताए । ‘नर्सरीमा उत्पादन गरेको १ लाख ३० हजार विरुवा सबै विक्री भइसकेका छन्’,डाँगीले भने । जडिबुटीको रुपमा रहेको टिमुरको मूल्य अत्यधिक भएकाले पनि विरुवाको माग बढिरहेको छ । अहिले दैनिक तीनदेखि चार ओटा गाडीबाट टिमुरलगायत विभिन्न फलफूलका विरुवाहरु निर्यात भइरहेका छन् । सुन्तला, जुनार, कागती, टिमुर, तेजपात, ओखर, स्याउलगायतका विरुवाहरु निर्यात भइरहेको छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)