असार २३, दैलेख(अस) । कर्णाली प्रदेश सरकारले अनुदानमा दैलेख जिल्लालाई ३ लाख ७५ हजार अलैंचीका बिरुवा उपलब्ध गराएको छ । ‘एक निर्वाचन क्षेत्र, एक अलैंची पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत प्रदेश सरकारले कृषि ज्ञान केन्द्र दैलेखमा पठाएको हो । केन्द्रले नारायण बहुउद्धेस्यीय सहकारी संस्था मार्फत सञ्चालित लक्ष्मी नारायण अलैंची पकेट क्षेत्र निर्माण कार्यक्रम अन्तर्गत कृषकलाई अलैंचीका बिरुवा उपलब्ध गराएको छ ।
अलैंची खेतीलाई व्यावसायमुखि बनाउनका लागि पकेट क्षेत्र विस्तार तथा प्रवर्द्धनमा सहायता पुग्ने योजनासहित प्रदेश सरकारले बिरुवा उपलब्ध गराएको कृषि ज्ञान केन्द्र दैलेखले बताएको छ । व्यवसायिक कृषलाई पुरक अनुदानमा अलैंचीका बिरुवा उपलब्ध गराइएको हो । जसअन्तर्गत नारायण नगरपालिका–१० भवानीमा १ लाख २० हजार, यस्तै वडा नं ११ बिन्धवासिनीमा १५ हजार, महावु गाउँपालिकामा १ लाख २५ हजार २०० र नौमुले गाउँपालिकामा १ लाख १५ हजार मध्ये ६६ हजार बिरुवा वितरण गरीएको छ ।
पहिलो चरणमा दैलेख निर्वाचन क्षेत्र नं–१ का तीन ओटा स्थानीय तहको ७० हेक्टर क्षेत्रफलमा कार्यक्रम विस्तार गरिएको कार्यक्रमका संयोजक भक्तकिशोर श्रेष्ठले जानकारि दिए । उनले भने, ‘पूर्वाधार तर्फ १५ ओटा प्लास्टिक पोखरी, चार ओटा पक्की पोखरी, तीन ओटा अलैंची भट्टी पकेट क्षेत्र निर्माणाधिन अवस्थामा छ ।’
दोस्रो चरणमा क्षेत्र नं १ कै भगवतीमाई, डुुंगेश्वर र गुराँस गाउँपालिकामा कार्यक्रम विस्तार गरिने र क्षेत्र नं २ को तीन ओटा तह गरि १५० हेक्टर क्षेत्रफलमा अलैंची खेतीलाइ विस्तार गरिने योजना छ । सानो तथा ठुलो गरि करीब ५ हजार मिटर पाइप वितरण गर्ने योजना समेत रहेको छ ।