सुर्खेत । अविरल वर्षाले तल्लो सुर्खेत डुबानमा परेको छ । मंगलवार राति आएको भलबाढीले वीरेन्द्रनगरका ९, १०, ११, १२ र १३ नं वडाका गाउँहरू डुबानमा परेका छन् । उपत्यकाको उत्तरी क्षेत्रबाट बग्ने साना–साना खहरे खोलाहरूमा आएको बाढीले आसपासका बस्तीहरू जोखिममा परेका छन् । डुबानबाट जोगिन स्थानीयवासी घर छाडेर उँचो र सुरक्षित स्थानतर्फ लागेका छन् ।
इत्राम खोलाकोे व्यवस्थित निकास नहुँदा रत्नराज मार्गमा पर्ने पुरानो बसपार्कको तल्लो भेग, खजुरा, पिपिरा लगायत बस्तीसँगै नालाकिनारका घरमा बाढी पसेको छ । जिप्रकाका सूचना अधिकारी (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले डुबानबाट मानवीय क्षति नभए पनि सातओटा घरमा क्षति पुगेको बताए । त्यस्तै रत्न राजमार्गमा पर्ने राम लक्ष्मण खाद्य एन्ड कोल्ड सेन्टर, सारिका नास्ता पसल, नाम नखुलेको कुखुुरा फार्म, देउती कृषि गाईफार्म, स्थानीय देवी शाहीको निर्माणाधीन घर, रत्नबहादुर चौधरीको घर र नवराज सुवेदीको कुखुरा फार्ममा नोक्सानी पुगेको प्रहरीले बताएको छ ।
बाढीबाट प्रभावित र जोखिममा रहेका वीरेन्द्रनगर ९ र १० नं वडाका ३० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार डुबानका कारण लाटीकोइली, अलयाचौर, घुस्रा र पर्सेनी जोड्ने सडक अवरुद्ध भएको छ । बाढीले यस क्षेत्रमा अधिकांश खेतीयोग्य जमीन डुवानमा परेको छ । डुबान क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रतिनिधि सभा सांसद रावतको आग्रह
वीरेन्द्रनगरको रत्नराज मार्गदेखि तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावितहरूको राहत र उद्धारमा सघाउन सुर्खेत क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद नवराज रावतले आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै उनले बाढीपीडितहरूलाई तत्काल उद्धार, राहत र सुरक्षाको व्यवस्था गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् ।