ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ मा आयुर्वेद उद्योगका लागि ४ स्थान उपयुक्त, १४ ओटै जिल्लामा संकलन केन्द्र खोल्न सिफारिस

Aug 6, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

साउन २१, विराटनगर । प्रदेश–१ मा आयुर्वेद चिकित्सा एवम् औषधि प्रशोधन तथा उत्पादन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । डा. भविन्द्र न्यौपानेको संयोजकत्वमा गठित १० जना विज्ञसहितको अध्ययन टोलीले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले उद्योग स्थापनाका लागि प्रदेशका तीन जिल्लाका चार स्थानका जग्गा छनोट गर्न सकिने प्रस्ताव गरेको छ । मोरङको धनपालथान र बेलबारी, झापाको खुदुनाबारी र सुनसरीको तरहराका जग्गा उद्योगका लागि उपयुक्त रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

कार्यदलले सरकार एक्लैले नभई सार्वजनिक–निजी साझेदारीमा उद्योग स्थापना गर्न सुझाव दिएको छ । कार्यदलले प्रदेशका १४ जिल्लामा अध्ययन गरी २ प्रकारका सूची तयार पारेको छ । व्यापारिक महत्वका जडिबुटी र आयुर्वेदिक औषधिमा प्रयोग हुने खेती वा वनबाट संकलन हुने जडिबुटी भनी छुट्टयाइएको छ । प्रदेश–१ मा रुद्राक्ष, तेजपात, चिराईतो, रिठ्ठा, मजिठोलगायतका जडिबुटी धेरै परिमाणमा विक्री भएको पाइएको छ भने वन लसुन, रुद्राक्ष, चिराईतो, तेजपात र सतुवाको व्यापारबाट बढी आम्दानी भएको देखिएको छ । यिनलाई व्यापारिक महत्वका जडिबुटी अन्तर्गत राखिएको छ ।

यस्तै आयुर्वेदिक औषधि उद्योग स्थापनाका लागि जडीबुटीको छुट्टै सूची तयार पारिएको छ । नेपालमा सबैभन्दा बढी खपत हुने आयुर्वेदिक औषधिमा अभिपत्तिकर चुर्ण, त्रिफला चुर्ण, बर्रो चुर्ण, अश्वगन्धा चुर्ण आदि रहेकोमा यी सबै नेपालमै उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसका लागि आवश्यक अमला, हर्राे, बर्राे, अश्वगन्धा, सर्पगन्धा, मजिठो, चिराइतो, सताबारी, पिपला लगायत गरी ११ जडिबुटी यस क्षेत्रमा उपब्लब्ध हुने तथा यसको व्यावसायिक खेती समेत गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेशका १४ ओटै जिल्लामा आयुर्वेदिक औषधिको प्रचुर सम्भवना रहेको उल्लेख गर्दै हरेक जिल्लामा जडिबुटीको संकलन केन्द्र र भण्डारण केन्द्रको लागि पनि सिफारिस गरिएको छ । वर्षेनी आयुर्वेदिक औषधि खरीदका लागि ठूलो धनराशी बाहिर जाने भएकाले यस्ता जडीबुटी यही उत्पादन गर्न सके आर्थिक रुपमा सम्पन्न हुन सकिने कार्यदलका सदस्य डा. उमेशकुमार मेहेताले बताए ।  

सम्भाव्यता अध्ययन कार्यदलका सदस्य दिपेश प्याकुरेलका अनुसार नेपालबाट आर्थिक वर्ष २०७४/०७५ मा रू. १ अर्ब ५५ करोड बराबरको कच्चा जडीबुटी ५० भन्दा बढी मुलुकमा निर्यात भएको तथ्यांकले देखाएको छ । सोही आर्थिक वर्षमा रू. १ अर्ब ८८ करोडको आयुर्वेदिक औषधि भारतबाट आयात गरिएको थियो ।

प्रतिवेदनका आधारमा उद्योगको लागि स्थानको छनौट गर्ने, प्रस्तावित आयुर्वेदिक उद्योगको डीपीआर तयार गराउने र गुरुयोजना तयार गर्ने सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताए ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले प्रदेश–१ मा जडीबुटीको प्रचुर सम्भावना रहेको बताउदै यो आर्थिक समृद्धिको महत्वपूर्ण आधार हुने बताए । नेपालबाट कच्चा पदार्थ बाहिर जाने र औषधिको रुपमा महँगो मूल्यमा खरीद गर्नुपर्ने बाध्यकारी परिस्थितीको अन्त्यका लागि अब छिट्टै प्रदेश–१ मा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने प्रतिवद्धता उनले व्यक्त गरे ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)