ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रेलस्टेशन निर्माण सम्पन्न नहुँदै भत्कियो पर्खाल

Aug 9, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

विराटनगर । भारत सरकारको लगानीमा विराटनगरमा निर्माणाधीन रेलस्टेशन निर्माण सम्पन्न नहुँदै पर्खाल भत्किएको छ । यसअघि असिनाले क्षति पुगेको पर्खाल बाढी आएपछि भत्किएको हो ।  

विराटनगर–१८, नेपाल कस्टम यार्डमा भारत सरकारको लगानीमा निर्माणाधीन रेल स्टेशनको पर्खाल केही दिनअघि आएको लगातारको पानीका कारण भास्सिएर भत्किएको हो । सो क्रममा रेल स्टेशनको पश्चिमतर्फ १६० मिटर र पूर्वतर्फ ४० मिटर गरेर २ सय मिटर पर्खाल भत्किएको छ । यसअघि गएको चैत महीनाको दोस्रो साता परेको असिना पानीले समेत सो पर्खालमा क्षति पुगेको थियो । त्यतिखेर परेको असिनाका कारण पर्खालको प्लास्टर उप्किएर क्षतविक्षत भएको थियो । 

स्थानीयवासीले गुणस्तरहीन निर्माण कार्य भएको गुनासो गरेका छन् । सो समयमा त्यहाँको रेल कुद्ने लिकको बीचमा बनाइएको १८० मिटर नाला समेत सामान्य असिनापानीमा भत्किएको थियो । निर्माणमा लापरबाही र गुणस्तरहीन सामग्री प्रयोग गरिएका कारण सामान्य कारणहरूले समेत संरचना भत्किने गरेको स्थानीय गिरीश यादवको भनाइ छ । 

निर्माण पक्षका ठेकेदारले गुणस्तरहीन काम भएको आरोपलाई अस्वीकार गरेका छन् । भारतीय ठेकेदार पक्षका मुन्सी सन्तोष झाले लगातारको वर्षाका कारण पर्खाल छेउको माटो भास्सिएका कारण पर्खाल भत्किएको दाबी गरे । उनले गुणस्तरहीन निर्माण भएको विषयलाई अस्वीकार गरे पनि रेलस्टेशनको पर्खाल मात्र नभई त्यहाँका अन्य संरचनाहरू समेत दर्जनौं ठाउँमा चर्किएका छन् । रेल स्टेशनको भवनसमेत बीचमै चिरा परेको छ । यस्तै, स्टेशनको पश्चिमतर्फ रहेको पावर हाउसको सतह समेत चर्किएको छ । 

भारत सरकारको करीब २३८ करोड भारतीय रुपया सहयोगमा बथनाहादेखि मोरङको कटहरीसम्मको साढे १८ किलोमिटर रेलवे ट्र्याक, स्टेशन बिल्डिङ, यात्रु प्रतीक्षालय र संयुक्त चेक प्वाइन्ट निर्माण गरिने नेपाल र भारतबीच सम्झौता छ । भारतीय ठेकेदार कम्पनी इरकानले निर्माणकार्यको ठेक्का पाएको छ । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)