ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानको विवादित खानेपानी परियोजना चुनावी मुद्दा बन्दै

Aug 20, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । शुरुआतदेखि नै विवादित रहेको धरानको खानेपानी परियोजना आउँदो मङ्सिर १४ मा हुने निर्वाचनका लागि चुनावी मुद्दा बनेको छ । नेकपाको नेतृत्वमा रहेको धरान उपमहानगरपालिकाले खानेपानी परियोजना सम्पन्न गर्न नसकेको भन्दै नेपाली कांग्रेस लगायत दलले विरोधसहित यसलाई चुनावी मुद्दा बनाएका हुन् ।

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवनसिंह मोक्तानको मृत्यु भएपछि १ वर्षदेखि पद खाली छ । निर्वाचन आयोगले मङ्सिर १४ का लागि रिक्त रहेका पदमा निर्वाचन हुने सूचना जारी गरेपछि धरानमा पनि निर्वाचनको माहौल बढेको छ ।

गत बिहीवार धरान उपमहानगरपालिकाले खानेपानी परियोजनाको प्रगति विवरण सार्वजनिक गर्‍यो । उक्त कार्यक्रममा नेपाली कांग्रेसबाट उम्मेदवारी घोषणा गरेका सुजेन्द्र गोलेले खानेपानी परियोजना असफल भइसकेको टिप्पणी गरे । 

सोही कार्यक्रममा नेपाली कांग्रेसका धरान नगरसमितिका अध्यक्ष तिलक राईले संस्थानको दायित्व उपभोक्तालाई पानी खुवाउनु भएकाले आयोजना सफल नभएसम्म संस्थानलाई बोर्डमा हस्तान्तरण गर्न नहुने तर्क गरे । खानेपानी परियोजनाको शुरुआत ताका सुजेन्द्र गोले अनुगमन समितिका संयोजक थिए । अहिले पनि धरान उपमहानगरपालिकाको अनुगमन समितिका संयोजक पनि उनी नै हुन् ।

नेकपाका नेताहरूले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले खानेपानी आयोजना असफल भएको तर्क गरेर धराने जनतालाई बिथोल्न खोजेको आरोप लगाएका छन् । ‘अहिले नै आयोजना असफल भयो भनेर भ्रम झिजाउनु राम्रो होइन,’ नेकपाका नेता पदम इस्वोले भने, ‘बरु यो सबै दलको साझा एजेन्डा बन्नुपर्छ ।’

धरान खानेपानी संस्थानको सम्पत्ति र दायित्व बोर्डमा हस्तान्तरण गर्न पत्राचार भइसकेको छ । तर संस्थानले सम्पत्ति र दायित्व हस्तान्तरण गर्न नमान्दा धराने जनताले खानेपानी पाउन सकेका छैनन् । संस्थानले सम्पत्ति र दायित्व हस्तान्तरण गरे धरानका सबै क्षेत्रमा परियोजनाको पानी पुर्‍याउन सकिने धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । यद्यपि संस्थानको सम्पत्ति र दायित्व बोर्डमा हस्तान्तरण गर्न नहुने भन्दै नेपाली कांग्रेस, समाजवादी पार्टी, मंगोल नेशनल पार्टी लगायतले विरोध गरेका छन् । संस्थानको सम्पत्ति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तर गर्ने शर्तमा एशियाली विकास बैंकले एकीकृत शहरी विकास परियोजना अन्तर्गतको उक्त आयोजनाका लागि सन् २०१२ मा करीब २ करोड २० लाख रुपैयाँ ऋण तथा अनुदान दिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)