सुर्खेत । कर्णाली प्रदेशका जिल्लाहरूमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या बढेको छ । आन्तरिक राजस्व कार्यालय, सुर्खेतबाट पछिल्लो ३० दिनमा मात्र ११ हजार २०८ जनाले प्यान लिएका छन् । यस्तै २ महीना अवधिमा २१ हजार एक सय ९ जनाले प्यान प्रमाणपत्र लिएको कार्यालयले बताएको छ ।
यसैगरी जुम्लाबाट पनि प्यान लिनेको संख्यामा बढेको छ । जुम्लामा साउन (२९ गतेसम्म)मा करीब ३ हजारले प्यान लिएका हुन् । यसमा निजीक्षेत्रको सहभागिता करीब ५ प्रतिशत मात्र रहेको करदाता सेवा कार्यालय, जुम्लाले बताएको छ । सबैभन्दा बढी नेपाली सेना, शिक्षक र गैरसरकारी संस्थाका कर्मचारीले प्यान लिइरहेको कार्यालयको भनाइ छ । करदाता सेवा कार्यालय, जुम्लाका प्रमख हिमालय बमका अनुसार दैनिक डेढ सयभन्दा बढीले प्यान लिने गरेका छन् । यस्तै कालीकोट र मुगबाट पनि प्यान लिनेहरू बढेको उनले बताए ।
सरकारले कर्मचारीलाई प्यान अनिवार्य गरेपछि यसका लागि आउनेहरू बढेको आन्तरिक राजस्व कार्यालय, सुर्खेतका कर अधिकृत लुमाराम पन्थीले बताए । ‘अहिले दैनिक ५०० देखि ७०० सम्म सेवाग्राही व्यक्तिगत प्यान लिन आउने गरेका छन्,’ उनले भने ।
यद्यपि न्यून कर्मचारीका कारण सेवा प्रवाहमा समस्या भएको पन्थीले बताए । २२ जना दरबन्दी रहेको कार्यालयमा हाल ७ जना मात्र कर्मचारी छन् । कार्यालयमा सेवाग्राही बढेसँगै खाजा खाने समयमा समेत सेवा दिनुपरेको उनको भनाइ छ । ‘बेलुका ६÷७ बजेसम्म बसेर भए पनि प्यान प्रमाणपत्र उपलब्ध गराउँदै आएका छौं,’ उनले भने । कार्यालयमा प्यानसँगै भ्याट प्रमाणपत्र लिन आउनेको संख्या पनि उल्लेख्य रहेको उनले बताए । कार्यालयमा सेवाग्राही चाप बढेपछि सुर्खेत उद्योग वाणिज्य संघले समेत दुई स्वयंसेवक खटाएको छ ।