सुर्खेत । कर्णालीमा पर्यटक आगमन अपेक्षित रूपमा बढ्न सकेको छैन । महँगो यातायात खर्च, यातायात तथा भौतिक पूर्वाधार अभाव र प्रचारप्रसारको कमीले पर्यटक आगमन बढ्न नसकेको सरोकारवालाहरूले बताएका छन् । यीमध्ये पनि चर्को हवाई भाडा मुख्य कारण रहेको उनीहरूले औंल्याएका छन् ।
आन्तरिक वायुसेवा कम्पनीले विदेशी पर्यटकसँग महँगो हवाई भाडा लिने गरेकाले कर्णालीमा विदेशी पर्यटकको आगमन घटेको सुर्खेत उवासंघका महासचिव लक्ष्मण कँडेलले बताए । प्रदेश तथा केन्द्र सरकारले कर्णालीको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारमा जोड दिनुपर्ने उनले औंल्याए ।
सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार पर्यटक आएको तथ्यांक पाइन्छ । यीमध्ये १३ हजार ४ सय मात्र कर्णालीको हुम्ला, रारा, शेफोक्सुन्डो, डोल्पा पुगेका थिए । यो कुल पर्यटक आगमनको करीब १ प्रतिशत मात्रै हो । कर्णाली प्रदेशको भ्रमण वर्ष २०२० का प्रदेश संयोजक राजु कार्कीका अनुसार सन् २०१८ मा कर्णालीमा पुगेका १३ हजार पर्यटकमध्ये १० हजार भारतीय नागरिक मात्रै थिए ।
भारतीय पर्यटक घटे
गतवर्षको तुलनामा यस वर्ष हुम्ला हुँदै चीनको मानसरोवर जाने भारतीय पर्यटक घटेका छन् । हुम्ला हुँदै मानसरोवर जाने भारतीय पर्यटकको संख्या गत साउनसम्म ५ हजार ५३७ पुगेको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । गतवर्षको सोही अवधिमा यो संख्या ८ हजारभन्दा बढी थियो ।
गत साउनसम्म आएका भारतीय पर्यटकमध्ये २ हजार ९९७ जना पुरुष र २ हजार ५४० जना महिला छन् । यो सिजनका लागि मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने पहिलो समूहले गत जेठ चार गते सिमकोट आइपुगेको थियो । अघिल्लो दुई वर्षको तुलनामा यसपटक सिमकोट हुँदै हिल्साबाट मानसरोवर जाने भारतीय पर्यटकको संख्या घटेको छ । गत वर्ष १० हजार ८५७ जना भारतीय पर्यटक हिल्सा मानसरोवर पुगेका थिए । अघिल्लो यो संख्या वर्ष १२ हजार ५३४ थियो । पर्यटक आगमन घटेपछि हुम्लाका व्यवसायी चिन्तित बनेका छन् । सिमकोट र हिल्सामा पर्यटक लक्षित ३ दर्जन होटल सञ्ञ्चालन छन् ।
भ्रमण वर्षमा १२ हजार मात्र पर्यटक
प्रदेश सरकारले ५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित २०७५ लाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई रारा लगेर उद्घाटन गरिएको उक्त घोषणा आर्थिक रूपमा विवादित मात्र भएन, घोषणाअनुसार लक्ष्य पनि अपूरो रह्यो । सरकारले कर्णालीमा आउने पर्यटकको तथ्यांक राख्ने गरेको छैन । यद्यपि रारामा भने अभियान शुरू भएको वर्ष करीब १२ हजार पर्यटक मात्र पुगेको कर्णाली प्रदेश पर्यटन विकास समितिका संयोजक राजु कार्कीले बताए । सरकारले पर्यटक भित्र्याउन ठोस योजना नल्याउँदा लक्ष्य पूरा नभएको उनको बुझाइ छ । अघिल्ला वर्षको तुलनामा पर्यटन वर्ष घोषणा भएकै वर्ष पर्यटक कम आउनुले कार्यक्रमको असफलता देखाएको कर्णाली प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले टिप्पणी गरे ।
कार्यक्रममै ७८ लाख अनियमितता
कर्णाली प्रदेशले आयोजना गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष’ कार्यक्रम आयोजनामै आर्थिक अनियमियतता भएको थियो । प्रदेश संसदको सार्वजनिक लेखा समितिले ७८ लाख रुपैयाँ हिनामिना भएको भन्दै प्रतिवेदन सार्वजनिक गर्यो । कार्यक्रम राम्रो हुँदाहुँदै पनि विवादित हुनु र अपेक्षित पर्यटक भित्र्याउन नसक्नुले सरकारको महत्वाकांक्षी र लोकप्रिय कार्यक्रम असफल बनेको सरोकारवालाको भनाइ छ । सरकारले भने पर्यटन वर्ष घोषणाबाट कर्णालीको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको दाबी गरेको छ ।