सल्यान । सल्यानको बागचौर नगरपालिका–११ र १२ मा पर्ने बाफुखोलाबाट यस सिजनमा रू. १५ करोडको आलु निर्यात भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानले बताएको छ । बाफुखोलाका स्थानीयले करीब दुई हजार रोपनीमा आलु खेती गर्दै आएका छन् । आलुको पकेट क्षेत्रको रूपमा चिनिएको बाफुखोलाका किसान यसबाट मनग्य आम्दानी हुन थालेपछि व्यावसायिक आलुखेतीमा आकर्षित हुन थालेका छन् ।
परम्परागत अन्नबाली छोडेर व्यावसायिक आलु खेती गर्दै आएका बाफुखोलाबासीले झन्डै ८० प्रतिशत जमीनमा आलु खेती गर्ने गर्दछन् । ‘हामीले आलुखेती गर्न थालेको २ दशकभन्दा बढी भयो, शुरूमा धान, गहुँ, मकै खेती गर्ने गरेका थियौं, आलुखेती तरकारी खानका लागि मात्रै गथ्र्यौं,’ स्थानीय टीका केसीले भनिन्, ‘अहिले आयआर्जनको मुख्य स्रोत आलु बनेको छ ।’
यहाँका करीब ६ सयभन्दा बढी घरधुरीले आलुखेती गर्दै आएका छन् । वर्षमा एक सिजनमा प्रतिपरिवारले वार्षिक ५० क्विन्टल आलु उत्पादन गर्छन् । सडक पुगेपछि व्यापारी गाउँमै पुगेर आलु खरीद गर्ने गरेको अगुवा कृषक चित्रबहादुर वलीले बताए । आलु प्रशोधन केन्द्र नहुनु, सरकारी पक्षबाट कुनै सहयोग प्राप्त नहुनु र बजारीकरण लगायतका समस्याले यहाँका किसानले आलुखेतीलाई सोचे जसरी आधुनिक र व्यावसायिक रूपमा सञ्चालन गर्न नसकेको उनले बताए ।
आलु उत्पादनबाट गाउँमा वर्षेनि १० देखि १५ करोड रुपैयाँ भित्रिने गरे पनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको वडा नम्बर १२ का अध्यक्ष दीपक वलीले बताए । ‘गाउँका सबैजसोले आलु उत्पादन गर्दै आएका छन्, अग्र्यानिक आलु भएकाले देशका ठूला शहरमा समेत यहाँको आलुको माग छ,’ उनले भने, ‘तर गाउँमा कोल्डस्टोर नहुँदा बारीबाटै विक्री गर्नुपर्ने बाध्यता छ ।’
२०७० साल वैशाख १२ गते बाफुखोला आएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बाफुखोलामा आलु प्रशोधन केन्द्र स्थापना गर्ने उद्घोष गरेका थिए । तर, अहिलेसम्म काम अघि बढ्न नसकेको स्थानीयको गुनासो छ । कर्णाली प्रदेश सरकारले बाफुखोलामा भण्डारण कक्ष स्थापनाका लागि बजेट विनियोजन गरेको बताएको छ ।
बाफुखोलामा उत्पादित आलु दाङ, नेपालगञ्ज, पोखरा, बुटवल लगायत बजारहरूमा निर्यात हुन्छ । आलुखेतीका लागि पर्याप्त सम्भावना बोकेको यस क्षेत्रलाई कृषि र पर्यटनका ठूला योजनासँग जोड्न सके राम्रो हुने सरोकारवालाको भनाइ छ ।