ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानमा स्मार्ट बसपार्कको डीपीआर तयार

Sep 11, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । धरानमा स्मार्ट बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । प्रदेश नं १ सरकारले स्मार्ट बसपार्कको डीपीआर तयार पारेको हो । धरान–८ तीनकुने सुन्दरबस्ती आयोजनाभित्र बन्ने उक्त बसपार्क बन्ने भएको छ ।

सरकारबाट बसपार्कको डीपीआर तथा डिजाइन तयार गर्ने ठेक्का ऋषिकेश सर्भिसेस प्रालिले पाएको थियो । कम्पनीले तयार गरेको डीपीआर प्रदेश सरकारले स्वीकृत गरिसकेको छ ।

बस्ती विकास आयोजनाको १ बिगाहा १५ कठ्ठा जग्गामा स्मार्ट बसपार्क बन्ने बसपार्कको लागत रू. ४३ करोड हुनेछ । यद्यपि उपमहानगरको सुझावअनुसार केही संरचना थप गर्दा यो लागत अझै बढ्न सक्ने आर्किटेक्ट अमृत कार्कीले बताए ।

डीपीआर अनुसार स्मार्ट बसपार्क बेसमेन्ट सहित तीन तलाको हुनेछ । बेसमेन्टमा २ सय ओटा साना गाडी र १५० ओटा मोटरसाइकल अट्ने पार्किङ रहनेछ । यस्तै, भुइँतला (सतह)मा ४९ बस अट्ने क्षमता हुनेछ, जहाँ १२ ओटा विभिन्न रूटमा जाने गाडी राख्नेगरी डिजाइन गरिएको छ । बसपार्कको तेस्रो तलामा यात्रु लक्षित संरचना हुनेछन् । यस तलामा क्याफे, लाइब्रेरी र व्यापारिक कोठाहरू रहने डीपीआरमा उल्लेख छ ।

बसपार्कको डीपीआर तयार भइसकेपछि कम्पनीले धरान उपमहानगरपालिका, जनप्रतिनिधि र यहाँका बस व्यवसायीसँग पनि छलफल गरेको थियो । उक्त छलफलमा डीपीआरमा केही संरचना थप गर्नुपर्ने सुझाव आएको कार्कीले जानकारी दिए । उनका अनुसार बसपार्कमा विद्युतीय बसका लागि पनि ठाउँ
राखिएको छ ।

कार्यवाहक उपमहानगर प्रमुख मञ्जु भण्डारी सुवेदीले स्मार्ट बसपार्क तयार भए धरानको विकासमा ठूलो उपलब्धि हुने बताइन् । तीन तहकै सरकारसँगको समन्वय र सहकार्यमा उक्त बसपार्क समयमै सम्पन्न गरिने उनको भनाइ छ । ‘डीपीआर अनुसार बसपार्क निर्माणका लागि नगर विकास कोषसँग पनि छलफल र परामर्श गर्नेछौं,’ उनले भनिन् । धरानको भानुचोकस्थित बसपार्क धेरै साँघुरो र अव्यवस्थित भएपछि १५ वर्षअघि नै यो आयोजना शुरुआत भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)