ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि उपज संकलन केन्द्र प्रयोगविहीन

Sep 11, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका विभिन्न स्थानमा निर्माण गरिएका कृषि उपज संकलन केन्द्र प्रयोगविहीन बन्दै गएका छन् । किसानहरूले बारीबाटै सीधै व्यापारीलाई तरकारी विक्री गर्न थालेपछि निर्माण गरिएका भौतिक संरचना अलपत्र पर्न थालेको बन्गाड कुपिन्डे नगरपालिकाका कृषक तुंगबहादुर बुढाले बताए । ग्रामीण कृषि सडक निर्माण भएपछि व्यापारीहरू कृषकको बारीमा नै तरकारी संकलनका लागि आउने गरेका छन् ।

उनले निर्माण गरिएका संकलन केन्द्र प्रयोगमा नआउँदा पशुचौपायाको ओत लाग्ने र बालबालिका खेल्ने स्थलको रूपमा परिणत भएको बताए । कृषकले उत्पादन गरेका तरकारीलाई सहजै बजारको पहुँच सम्म पुर्‍याउने उद्देश्यले केन्द्र निर्माण गरिएको हो । ‘बन्गाड कुपिन्डे नगरपालिकाको सल्लीबजारमा निर्माण गरिएको कृषि संकलन केन्द्र निर्माण भएको एक वर्ष नवित्दै प्रयोगविहीन बनेको छ,’ बुढाले भने, ‘संकलन केन्द्र सञ्चालनका लागि प्रयास गरे पनि पर्याप्त मात्रामा कृषिजन्य वस्तुको उत्पादन नहुँदा प्रयोगविहीन भएको हो ।’

२० वर्षअघि शारदा नगरपालिका–८, मार्के नाउलामा बनाएको कृषि संकलन केन्द्रको अवशेष मात्र रहेको स्थानीय जुद्धबहादुर बुढाथोकीले बताए । उनका अनुसार गाउँ नजीकै निर्माण गरिएको अर्को पक्की टहरो पनि बेवारिसे अवस्थामा पुगेको छ । ‘सरकारी रकम लगानी भएकाले त्यसलाई अन्य रूपमा सार्वजनिक स्थल बनाई प्रयोग गर्न सकिन्थ्यो, तर सबैतिरबाट बेवास्ता हुँदा सरकारी रकमको दुरुपयोग भएको छ,’ उनले भने ।

यस्तै, बन्गाड कुपिन्डे नगरपालिका–११, ढोरपिपलमा २०७४ सालमा रू. ६ लाखको लागतमा निर्माण भएको कृषि संकलन केन्द्र स्थानीयलाई सामग्री राख्ने स्थलमा परिणत भएको छ । संकलन केन्द्र निर्माण भएको ५/६ महीना सञ्चालनमा आए पनि अहिले प्रयोगविहीन रहेको स्थानीय अमर परियारले बताए । 
तरकारी संकलन केन्द्र बन्छ भनेर आफूले जग्गादान गरेको तर अहिले जग्गा खेर गएको महसूस भएको उनको भनाइ छ ।

अहिले जिल्लामा निर्माण गरिएका अधिकांश कृषि संकलन केन्द्र प्रयोगविहीन हुँदा राज्यको करोडौं लगानी खेर गएको छ । कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा निर्माण गरिएका कृषि संकलन केन्द्रहरू मात्र प्रयोगमा आउन सकेको कृषि ज्ञान केन्द्र, सम्पर्क कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्लाको कालिमाटी, सल्लीबजार, श्रीनगर, मार्के, बागचौर, ढोरपिपल लगायतका स्थानमा निर्माण गरिएका दर्जनभन्दा बढी कृषि संकलन केन्द्र प्रयोगविहीन भएका छन् । 

तरकारी राख्न बनाएका केही टहराको छाना हावाले उडाएको छ भने ढलान उप्किँदै जाँदा जीर्ण बन्दै गएको स्थानीय कृषकको भनाइ छ । साविकको जिल्ला कृषि विकास कार्यालय र विभिन्न संघसंस्थाको सहयोगमा कृषि संकलन केन्द्र निर्माण गरिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)