सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्तकुमार अधिकारीको अध्यक्षतामा सोमवार बसेको सरोकारवालाको बैठकले अब नियमित रूपमा शहरदेखि गाउँसम्म बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ । समितिको बैठकले विभिन्न क्षेत्रका विज्ञसहितको टोली बनाएर स्थानीय तहका उपभोक्तालाई समेत अनुभूति हुने गरी बजार अनुगमन गर्न लागिएको जानकारी दिएको हो । अनुगमन टोलीले अब कालोबजारी गर्ने र म्याद गुज्रेका वस्तु विक्री गर्ने व्यवसायीलाई ‘अन द स्पट’ (अनुगमन स्थलमा) नै कारबाही गर्ने बताइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले चाडपर्व नजीकिएसँगै अत्यधिक महँगी हुने र उपभोक्ता मारमा पर्ने भएकाले पनि यस समयमा विशेष जोड दिएर अनुगमनलाई तीव्रता दिन लागिएको बताए । उनले उपभोग्य वस्तुको कृत्रिम अभाव, अतिशय आर्थिक मोह र खर्चिलो संस्कारको दबाब र प्रभाव, माफिया प्रवृत्ति आदि कारणले उपभोक्ता महँगीको मारमा परेको जानकारी दिए । उनका अनुसार यसपटक बजार क्षेत्रमा सञ्चालित सुनचाँदी, हार्डवेयर, पेट्रोलपम्म, मासु र तरकारी पसल, होटल, कपडा–फेन्सी पसल, व्यवसाय तथा सवारीसाधनमा समेत अनुगमन गरिनेछ ।
विगतमा गरिएका अनुगमनका क्रममा कतिपयको व्यवसाय दर्ता नभएको र सरसफाइमा ध्यान नदिएको, मनपरी मूल्य लिएको, मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत बेच्न राखेको पाइए यस पटक कानून अनुसार ‘अन द स्पट’ कारबाही हुने रणनीति बनेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले बताए । उनले बजारमा पानी, दूध, तेल, मिठाई, खाजानास्ता तथा बेकरी आइटममा अनुगमन समितिको विशेष निगरानी रहने जानकारी दिए ।