ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करेसाबारी नभए पाहुना प्रतिबन्ध !

Sep 25, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । तपाईंको घरमा करेसाबारी छ कि छैन ? छ भने तरकारी लगाइएको छ कि छैन ? छैन भने पाहुना ख्याल गर्नुहोस् ∕ अब तपाईंको घरमा न पाहुना आउनेछन्, न त दुलही नै भित्रिने छिन् । सुन्दा सबैलाई अच्चम लाग्न सक्छ । तर सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ ले लागू गरेको नयाँ नियम हो । 

वडाले गत आर्थिक वर्ष २०७५/७६ देखि करेसाबारीमा तरकारी नलगाएका घरमा पाहुना नजान र छोरीबेटी नदिन उर्दी जारी गरेको छ । ‘एक घर एक करेसाबारी’ कार्यक्रम अन्तर्गत विषादीयुक्त तरकारीलाई विस्थापित गर्न र वडावासीलाई तरकारीमा आत्मनिर्भर बनाउन यस्तो उर्दी जारी गरिएको वडा कार्यालयले जानकारी दिएको छ । 

स्थानीय भीमबहादुर परियारले विगतमा बजारबाट तरकारी किनेर खाने गरेको भए पनि अहिले आफै उत्पादन गर्ने गरेको बताए । ‘वडाले नियम नै बनायो, पहिले त महँगो मूल्यमा तरकारी किनेर खानुपथ्र्यो, अहिले तरकारी किन्न बजार जानुपरेको छैन, घरमा खाएर बचेको बाँकी बजार लगेर विक्री गर्छौं,’ उनले भने । 

यस वडामा करीब ७ सय घरधुरी रहेका छन् । तीमध्ये वडाका ९० प्रतिशत घरमा करेसाबारी बनाइएको वडाध्यक्ष प्रेमबहादुर खड्काले बताए । ‘आफ्नै करेसाबारीमा अर्गानिक तरकारी उत्पादन गर्न दबाब दिने उद्देश्यले हामीले यस्तो निर्णय गरेका हौं,’ उनले भने, ‘यस कार्यक्रमले वडामा राम्रो प्रभाव पारेको छ ।’ 

करेसाबारीमा तरकारी लगाउन थालेपछि अहिले गाउँ नै तरकारीमय भएको र स्थानीय विस्तारै व्यावसायिक तरकारी खेतीमा पनि लागेको उनले बताए । वडाले करेसाबारीमा अनिवार्य रूपमा अर्गानिक तरकारी लगाउनुका साथै प्रत्येक घरमा फलफूलका पाँचओटा बोट लगाउने निर्णय गरेको थियो । त्यो पनि प्रभावकारी भएको वडा कार्यालयको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)