ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा धमाधम बन्द हुँदै उद्योग

Sep 26, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन


सल्यान । सल्यानको शारदा नगरपालिका–३ मा सञ्चालित सिस्नो प्रशोधन उद्योग अहिले बन्द छ । सञ्चालन भएको २ वर्षमा नै यो उद्योग बन्द भयो । लघु उद्यम कार्यक्रमको सहयोगमा सञ्चालित उक्त उद्योगले स्थानीय स्तरबाट कच्चा पदार्थ सिस्नो संकलन गरी पाउडर बनाएर विक्री गर्दै आएको थियो ।

६ वर्षअघि कालीमाटी गाउँपालिका–३, काल्चेका महिलाले सञ्चालन गरेको होजियारी उद्योग पनि अहिले बन्द छ । घरेलु तथा साना उद्योग विकास समितिको करीब ८ लाख रुपैयाँ सहयोगमा उद्योग सञ्चालन गरिएको थियो । तर, १ वर्ष नबित्दै उद्योग बन्द भयो । अहिले विभिन्न कारण देखाउँदै जिल्लामा सञ्चालित उद्योग बन्द हुन थालेका छन् ।

घरेलु कार्यालयलगायत विभिन्न सरकारी निकायको अनुदानमा जिल्लामा सञ्चालित घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढेको छ । स्थानीय तहलगायत अन्य सरकारी निकायले वर्षेनि शीपमूलक तालीमका नाममा लाखौं रकम खर्चिंदै आएका छन् । तर, उद्योग बन्द हुँदा तालीमप्राप्त जनशक्ति बेरोजगार बन्ने क्रम बढिरहेको छ । काल्चे होजियारी उद्योग व्यवस्थापन समिति सचिव जीविका गौतमले उद्योगबाट उत्पादित सामानले बजार नपाउँदा बजार बन्द गर्नुपर्ने बाध्यता रहेको बताइन् । उनले थपिन्, ‘उद्योग बन्द भएपछि भवन र मेशिन अलपत्र परेका छन् ।’ 

यस्तै, नमूना ढाका उद्योगकी सञ्चालक प्रेमा चन्दले बजार अभावमा उद्यम सञ्चालनमा समस्या भएको बताइन् । उनले आफूले उत्पादन गरेको सामान महँगो भएको भन्दै विक्री नै नहुने गरेको बताइन् । ‘एउटा सल बुन्न १५ सय रुपैयाँको धागो खर्च हुन्छ तर विक्री गर्दा सय रुपैयाँभन्दा बढी फाइदा हुँदैन,’ उनले भनिन् । बजारमा पाइने आधुनिक कपडाले ढाकाको कपडा विस्थापित गरेको उनको भनाइ छ ।

गरीबी निवारण तथा रोजगारीका अवसर सृजना गर्न उद्योग सञ्चालनमा ल्याइए पनि बजार र कच्चा पदार्थको अभावले धमाधम बन्द हुने गरेका छन् । शीपमूलक तालीम दिएका संस्थाहरूले उद्योग सञ्चालनका लागि अनुदान उपलब्ध गराए पनि बन्द हुँदा लगानी खेर गइरहेको छ । जिल्लामा साबुन, मैनबत्ती, धूप, पाउरोटी, चाउमिन, बाँस निगालोलगायत उद्योग बन्द हुने क्रम बढेको छ ।

घरेलु तथा साना उद्योग विकास समिति सल्यानका अनुसार जिल्लामा विभिन्न निकायले आर्थिक वर्ष २०६५/७६ मा करीब ७ सय जनालाई शीपमूलक तालीम प्रदान गरेका छन् । जिल्लामा सञ्चालित उद्योग धमाधम बन्द हुँदा तालीम प्राप्त जनशक्ति बेरोजगार बन्न थालेको कार्यालयका सूचना अधिकारी ध्रुव खत्रीले बताए ।

कार्यालयका अनुसार दर्ता भएका ८३ उद्योग र ३०७ व्यापारिक फर्म गत वर्ष खारेजीमा परेका छन् । जिल्लामा अहिलेसम्म २ हजार ७२ उद्योग दर्ता भए पनि १ हजार २ सय मात्र नियमित सञ्चालनमा छन् । घरेलुले गत वर्ष ५७७ जनालाई शीपमूलक तालीम दिएको थियो । तीमध्ये ४० प्रतिशत मात्र रोजगारीमा लागेको कार्यालयको तथ्यांक छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)