अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान र व्यायामको कमीले विश्वभर मुटुरोगका बिरामी बढ्दै गएका छन् । विश्व मुटु महासंघका अनुसार वार्षिक १ करोड ८० लाख मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ । सामान्यतया वृद्धावस्थामा हृदयाघातको खतरा हुने भए पनि पछिल्लो समय युवामा पनि हृदयाघात देखिन थालेको डा. चन्द्रमणि अधिकारी बताउँछन् । प्रस्तुत छ, मुटुरोग, यसका कारण, उपचार, बच्ने उपाय आदि विषयमा रहेर आर्थिक अभियानका काशीराम बजागाईंले डा. अधिकारीस“ग गरेको कुराकानीको सार :
मुटुका रोगहरू के के हुन् ?
जन्मजात र पछि हुनेगरी मुटुरोग दुई किसिमका हुन्छन् । जन्मजात मुटुको रोगबाहेक बाथ मुटुरोग, उच्च रक्तचापका कारण हुने मुटुको रोग, मुटुको चाल गडबड भएर हुने मुटुको रोग, हृदयाघातबाट हुने मुटुको रोग लगायत मुटुरोग विभिन्न प्रकारको हुन्छ ।
मुटु रोगको कारण के हो ?
मुटु रोगको खास कारण यही हो भन्ने छैन । मुटुरोगको एउटा कारण वंशाणुगत पनि हुन सक्छ । बच्चा गर्भमा हुँदा आमाले धूमपान गरेमा, सन्तुलित भोजनको अभाव भएमा तथा ३५ वर्ष काटेका आमाबाट जन्मेका बच्चामा मुटुरोग लाग्न सक्छ । यस्तै, बाथ रोग बिग्रिएर वा टन्सिलका कारण बाथ मुटुरोग लाग्न सक्छ । उमेर बढेसँगै मुटु रोग हुने कारण फरक हुन्छन् । अस्वस्थकर खानपिन र अव्यवस्थित जीवनशैलीका कारण मुटुरोग बढी हुन्छ । धूमपान तथा मद्यपानको सेवन, मधुमेह, उच्च रक्तचाप आदिले पनि मुटु रोग लाग्छ ।
हृदयाघात किन हुन्छ ?
मुटु मांसपेशीले बनेको मानव तथा अन्य जनावरको महŒवपूर्ण अंग हो, जसले रक्तसञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । मुटुलाई काम गर्न पोषक तŒवको आवश्यकता पर्छ, जुन रगतको माध्यमबाट आउँछ । मुटुलाई रगत पु¥याउने कोरोनोरी रक्तनली साँघुरो वा बन्द हुँदा हृदयाघात हुन सक्छ । उच्च रक्तचाप, मधुमेह, धूमपान, मोटोपना, चिल्लो पदार्थको अधिक सेवन आदि हृदयाघात मुटुको रोगका कारण हुन् । विभिन्न मुटु रोगका कारण मुटुमा रक्तसञ्चार बन्द हुन सक्छ, जसलाई ‘कर्नरआरटी डिजिज’ भनिन्छ । कोरोनरीआर्टरी डिजिजका कारण हृदयाघात हुन सक्छ ।
हृदयाघात हुँदा कस्ता लक्षण देखिन्छन् ?
हामी हृदयाघात हुँदा बेहोश हुने सोच्छौं, त्यो गलत हो । हृदयाघातको पहिलो लक्षण छाती दुख्नु हो । केहीलाई चिटचिट पसिना आउँछ, वाकवाक लाग्छ र श्वास फेर्न गाह्रो हुन्छ । हृदयाघात हुँदा केही प्रतिशत मानिस मात्र बेहोश हुन्छन् ।
छाती दुख्नेबित्तिकै परामर्श गराउनुपर्छ ?
विभिन्न कारणले छाती दुख्छ । विभिन्न मानसिक तनावले पनि छाती दुख्छ । विशेषगरी मुटुको वरिपरि वा छातीको बीच भागमा दुख्नु मुटुरोगको लक्षण हो । भल्भ मुटुरोग, बाथ मुटुरोग, हार्ट फेलियर, कोरोनरी मुटुरोग, जन्मजात मुटुरोग र उच्च रक्तचाप आदि छाती दुख्ने प्रमुख कारण हुन सक्छन् । त्यसैले मुटु रोगसम्बन्धी स्तरीय सेवा रहेको अस्पतालमा गएर परामर्श गर्नुपर्छ ।
मुटुरोगबाट बच्न के गर्नुपर्छ ?
उच्च रक्तचाप, मधुमेह, मोटोपना, मानसिक तनाव, कोलेस्टेरोल नियन्त्रण गरेमा केही हदसम्म मुटुरोगबाट बच्न सकिन्छ । नियमित व्यायाम गर्नुपर्छ । मद्यपान र धूमपान गर्नुहुँदैन । बढी चिल्लो र बोसोयुक्त खाना खानुहुँदैन । प्र्रत्येक ६–६ महीनाको अन्तरालमा मुटु परीक्षण गराउनु राम्रो हुन्छ । लक्षण देखिएमा जतिसक्दो चाँडो मुटुरोगको उपचार हुने अस्पतालमा गएर विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
नेपालमा हृदयाघातको अवस्था कस्तो छ ?
हृदयाघात मुटुको रोग दिनप्रतिदिन बढिरहेको छ । धेरैजसो मानिस रोग थाहा नपाएर समयमै उपचार गराउन आउँदैनन् । जुन अहिलेको सबैभन्दा ठूलो समस्या हो । पछिल्लो समय नेपालमा कम उमेरका मानिसमा पनि हृदयाघात देखिन थालेको छ । साधारणतया पुरुषहरूमा ५५ वर्ष पछाडि र महिलाहरूमा ६५ वर्ष पछाडि हृदयाघात हुने सम्भावना हुन्छ । तर अहिले हृदयाघात भएर आउनेमध्ये ११ प्रतिशत बिरामी ४५ वर्षभन्दा कमका छन् ।
मुटुरोग उपचारको आर्थिक भार कति हुन्छ ?
विदेशको तुलनामा नेपालमा हृदय रोगको उपचार सस्तो छ । नेपालमा ‘प्राइमरी एन्जियोप्लास्टी’ गर्दा रू. १ लाख ५० हजारसम्म खर्च लाग्छ । यसमा सरकारले विपन्न वर्गलाई रू. १ लाख अनुदान दिन्छ । तर नेपालमा यो पनि महँगो हो । सरकारले १ लाख अनुदान दिए पनि ५० हजार अभावले पनि उत्कृष्ट उपचारबाट बिरामीहरू वञ्चित हुनुपरेको छ । अर्को कुरा, मुटुरोगको उपचारपछि जीवनभर औषधि सेवन गर्नुपर्ने हुन्छ । मुटुरोगीले दैनिक रू. ५० बराबरको औषधि खानुपर्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
नेपालमा अहिले पनि मुटुरोगका बिरामी समयमै अस्पताल आउँदैनन् । समयमै अस्पताल नआउँदा उपयुक्त र उत्कृष्ट उपचार हुन सक्दैन । त्यसैले लक्षण देखिएमा समयमै अस्पताल पुगेर परामर्श लिन, समय समयमा मुटुको जाँच गर्न र स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गर्छु ।