ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लो भोल्टेज र ट्रिपिङ हटाउन उद्योगीको माग

Oct 21, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई

विराटनगर । पूर्वी क्षेत्रका उद्योगी तथा व्यवसायीले लो भोल्टेज र ट्रिपिङको समस्या हटाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष माग गरेका छन् । पूर्व आएका कार्यकारी निर्देशक घिसिङसँग शुक्रवार छलफल गर्दै उद्योगीले लो भोल्टेज र ट्रिपिङले उद्योग सञ्चालनमा समस्या भएको बताएका हुन् । 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, ‘औद्योगिक क्षेत्रमा एकदमै लो भोल्टेज आउने गरेको छ । त्यसमाथि पनि विद्युत् अप–डाउन हुँदा उद्योग सञ्चालनमै समस्या भएको छ ।’ सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अझैसम्म समस्या समाधान नगरेको उनको भनाइ छ । 

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा साना–ठूला गरी करीब ६ सय उद्योग सञ्चालनमा छन् । लोडशेडिङका कारण ८० भन्दा बढी उद्योग बन्द भइसकेका छन् । विगतमा यो क्षेत्रका उद्योगले दैनिक १८ घन्टासम्म लोडशेडिङ बेहोरेका थिए । ट्रिपिङका कारण उद्योगको उत्पादनमा ह्रास, कच्चापदार्थ खेर जाने समस्या, मिल मेशिनरी बिग्रनु जस्ता कारणले उद्योगी÷व्यवसायीले थप आर्थिक भार बहन गर्नु परिरहेको घिमिरेको भनाइ छ । 

उनले कटैया–मुजफ्फरपुर प्रसारण लाइनबाट प्राप्त विद्युत् प्रदेश–१ लाई वितरण गर्नसमेत माग गरे । उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा संगठनका पूर्वअध्यक्ष शिवशंकर अग्रवालले बैंकमार्फत विद्युत् महशुल तिरेर पनि सोही दिन प्राधिकरणले रसिद नकाट्दा जरीवाना तिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने माग गरे । संगठनका उपाध्यक्ष राकेश सुरानाले उद्योग परिसरमा जडान गरेको ट्रान्सफर्मर बिग्रिँदा टेस्टिङका लागि हेटौंडा लैजानु परिरहेको बताउँदै विराटनगरमै टेस्टिङको व्यवस्था मिलाउन आग्रह गरे । 

मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नवीन रिजालले विगतमा लोडशेडिङ हुँदाझैं उद्योगीले तनाव बेहोर्नु परिरहेको बताए । संघका निवर्तमान अध्यक्ष पवनकुमार शारडाले विद्युत् समस्या समाधान नभएसम्म उत्पादन वृद्धि हुन नसक्ने बताए । संगठनका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले प्राधिकरणले विद्युत्सँग सम्बन्धित आगामी पाँचवर्षे योजना सार्वजनिक गरे उद्योग व्यवसायमा थप लगानी बढ्ने धारणा राखे । 

सो अवसरमा कार्यकारी निर्देशक घिसिङले आगामी दुई वर्षभित्र विद्युत्सँग सम्बन्धित सबै समस्या समाधान हुने बताए । प्रदेश–१ का लागि ट्रान्समिसन लाइन बन्ने क्रममा रहेको उनले जानकारी दिए । प्राधिकरण आन्तरिक सुधारमा लागिपरेको बताउँदै उनले लोड र आपूर्तिबीच सामाञ्जस्य नभएकाले ट्रिपिङ र लो भोल्टेजलगायतको समस्या आउने गरेको स्पष्ट पारे । प्राधिकरणको ग्रिडमा विद्युत् थप हुने क्रम जारी रहेकाले समस्याहरू समाधान हुँदै जानेमा ढुक्क हुन उद्योगी व्यवसायीलाई उनले आग्रहसमेत गरे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)