ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केसलिया खोलामा अवैध उत्खनन

Oct 22, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई


विराटनगर । विराटनगर र दुहबीको सिमाना भएर बग्ने केसलिया खोलामा अवैध उत्खनन भइरहेको पाइएको छ । विराटनगर–४ इक्राहीस्थित केसलिया खोला पुल छेउमा एक्स्क्याभेटर प्रयोग गरी उत्खनन भइरहेको छ । प्रहरीसहितको टोली सोमवार त्यहाँ पुग्दा दर्जनौं ट्र्याक्टर र टिपरहरू माटो ओसारिरहेका थिए । प्रहरीले यसका चालकहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले पश्चिमतर्फबाट माटो ओसारेर आउँदै गरेका टिपर र सम्बन्धित चालकलाई समेत नियन्त्रणमा लिएको छ । लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका डीएएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी नजीकैको पुलतर्फ लाग्यो । नियम विपरीत उत्खननको अवस्था त्यहाँ पनि उस्तै थियो । विराटनगर र दुहबीको बुगडरी जोड्ने पुल नजिकै एक्स्क्याभेटरको प्रयोग गरी माटो उत्खनन भइरहेको पाइयो । 

खोलाको बहावभन्दा १० मिटरभन्दा पनि कम दूरीमा गहिरो खाडल बनाएर माटो उत्खननमा प्रयोग भएका एक्स्क्याभेटर, ट्र्याक्टर र टिपरसहित चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चारओटा ट्र्याक्ट्रर, सातओटा टिपर र एउटा एक्स्क्याभेटर नियन्त्रणमा लिएको हो । नदीको अवैध उत्खनन गर्दै आएको समूहलाई प्रहरीले समातेपछि स्थानीयवासी उत्साहित भएका छन् । लामो समयदेखि खोलाको जथाभावी दोहन गरिँदा आफूहरूले डुबानको समस्या खेप्नुपरेको स्थानीय मैहरुन खातुनले बताए । 

उक्त क्षेत्रमा भइरहेको अवैध उत्खननले विराटनगर–बुगडरी जोड्ने पुल जोखिममा परेको छ । खोलाको जथाभावी उत्खननले माटोको सतह तल झरेको छ, जस कारण जग कमजोर भएर जुनसुकै बेला पुल क्षतिग्रस्त हुने सम्भावना बढेको हो । माटो तस्करहरूले खोलाको बहाव नै परिवर्तन गरी उत्खनन गर्दै आएको स्थानीयको गुनासो छ । 

विराटनगर महानगरपालिकाले उत्खनन रोक्न कडा कदम चालिने बताउँदै आए पनि कार्यान्वयनमा देखिएको छैन । जनशक्तिको अभाव लगायत कारण कामकारबाही सञ्चालनमा चुनौती भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जिकीर गरे । स्थानीयवासी सजग नभएसम्म उत्खनन नियन्त्रणमा कठिनाइ हुने उनको बुझाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)