सुर्खेत । सुर्खेतमा सञ्चालित पानी उद्योग मापदण्ड पूरा नगरी सञ्चालन भएको पाइएको छ । सम्बन्धित उद्योगले तोकिएको न्यूनतम मापदण्ड समेत नपु¥याई पानी उत्पादन तथा विक्रीवितरण गरिरहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वय एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको अगुवाइमा आइतवार वीरेन्द्रनगरमा भएको अनुगमनका क्रममा सदरमुकाम वीरेन्द्रनगरका चारओटै उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ ।
अनुगमन समितिले मापदण्ड पु¥याएर उद्योग सञ्चालन गर्न पटक–पटक निर्देशन दिए पनि ती उद्योगले सुधार नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले बताए । ‘पछिल्लो ३ महीनामा तीनपटक अनुगमन गरी मापदण्ड अनुसार उद्योग सञ्चालन गर्न निर्देशन दिए पनि आलटाल गरिरहेका छन्,’ उनले भने, ‘यस्ता पानी उद्योग अब बन्द गर्नुको विकल्प छैन ।’ यसअघि गरिएका अनुगमनमा पनि सामान्य मापदण्ड पूरा नगरेकाले ती उद्योगमा शिलबन्दी गरिएको उनले बताए । उनका अनुसार त्यतिबेला शिलबन्दी गरिएका उद्योगमध्ये केहीले मापदण्ड पूरा गर्ने प्रतिबद्धता गरेपछि खुला गरिए पनि अवस्था उस्तै छ ।
अनुगमनमा पानी उद्योगहरू दर्तापछि नवीकरण समेत नभएको पाइएको छ । पानी उद्योगलाई अनुगमन टोलीले प्रक्रिया पूरा गर्न सचेत गराएको ३ महीना बितिसक्दा समेत कारबाही हुन सकेको छैन । नवीकरण नगरेका उद्योगहरूलाई प्रक्रिया पूरा गरेर मात्र उत्पादन गर्न दिनुपर्नेमा अनुगमन टोलीले सचेत मात्र गराएर छोड्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतको आरोप छ । मञ्चका सचिव रामप्रसाद शर्माले तोकिएको मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन गर्ने उद्योगलाई कारबाही गर्न नसक्नु सरकारी कमजोरी रहेको औंल्याए ।
अनुगमन टोलीले वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको वाटर एन्ड बेभरेज इन्डस्ट्रिज प्रालि र पिपिरामा रहेको देउती दर्शन वाटर एन्ड बेभरेज इन्डस्ट्रिज प्रालि, खजुरास्थित रारा ड्रिंकिङ वाटर सप्लाई उद्योग र तातापानीको जय श्री पिउने पानी उद्योग ‘स्वच्छ पिउने पानी सम्बन्धी निर्देशिका’ र ऐन विपरीत उद्योग सञ्चालन भइरहेको पाएको छ ।