ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रानी–धरान ६ लेन सडक : ६ वर्षमा ६० प्रतिशत निर्माण

Nov 4, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

विराटनगर । मोरङको रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ६ वर्ष भए पनि पूर्णता पाउन सकेको छैन । काममा ढिलाइ, निर्माण कार्यसँगै देखिएका समस्या र डीपीआर तयार गर्दा नै गरिएका गल्तीका कारण निर्माण कार्य अघि बढाउन समस्या भएको हो । हालसम्म सडकको ६० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाका प्रमुख बद्री शर्माले बताए ।

उक्त सडक विस्तारको काम आर्थिक वर्ष २०६९/७० देखि शुरू भएको हो । पहिलो ठेक्का विराटनगरको बरगाछीदेखि दूध फारमसम्म लगाइएको थियो । तीन वर्षमा सडक बनाइसक्नु पर्नेमा सडक नाला र फुटपाथको काम अझै भएको छैन । शर्माका अनुसार रानीदेखि धरानसम्म ४९ किलोमिटर लामो सो सडकमध्ये पटकपटक गरी ३४ किलोमिटरको ठेक्का लागिसकेको छ । जम्मा रू. १० अर्बको सो योजनामा ३४ किलोमिटर बाटो रू. ७ अर्बमा ठेक्का लागेको हो । ठेक्का लागे जति सडकलाई १४ टुक्रा बनाएर विभिन्न निर्माण कम्पनीहरूले काम गरिरहेका छन् ।

बरगाछी–दूधफारमसम्मको सडक निर्माणमा भएको ढिलाइका कारण सो आयोजनाले निर्माण कम्पनी पीए गीताञ्जली र कान्छाराम निर्माण सेवालाई रू. २ करोड ५० लाख जरीवाना गरेको छ । त्यस्तै सोही सडकको नाला र फुटपाथ निर्माण गर्ने कम्पनीलाई समेत जरीवाना गरिएको छ । ठेक्का लागेको १४ टुक्रामध्ये इटहरी–तरहरा बाहेकको सडक आगामी असार मसान्तसम्ममा बनाइसक्नु पर्ने समयसीमा थियो ।

हालसम्म ठेक्का लागेको सडक १४ प्याकेजमा भए पनि ठेक्का लिने निर्माण कम्पनीहरू भने तुन्दीरमण, कान्छाराम, गीताञ्जली, ढुकुचु, कालिका र शर्मा कम्पनीले विभिन्न प्याकेजलाई संयुक्त रूपमा ठेक्का लिएका छन् । सो आयोजना अन्तर्गत दुहवीमा बुढी नदीमा पुल बनाउने ठेक्का पनि लागिसकेको छ । तरहरादेखि धरानको तीनकुनेसम्मको सडक भने टेन्डर आह्वानको प्रक्रियामा गएकै छैन ।

आयोजना प्रमुख शर्माका अनुसार तरहरादेखि तीनकुनेसम्म जंगल क्षेत्र पर्ने हुँदा रूख कटानका लागि वनको स्वीकृति चाहिने भएकाले सोका लागि प्रक्रिया अघि बढाइएको र वनको स्वीकृति पाएपछि मात्रै टेन्डर प्रक्रिया अघि बढ्नेछ । सडक निर्माणको ठेक्का तरहरासम्मको लागे पनि इटहरी बजारमा झण्डै आधा किलोमिटर जति सडकको दायाँ–बायाँ घरहरू भत्काउन बाँकी नै छ । त्यस्तै दुहबी बजारको एक किलोमिटर क्षेत्रका घरहरू के गर्ने भन्ने अझसम्म निर्णय नै भएको छैन ।

सडकको चौडाइ सरदर ९८ दशमलव ४ फिट भए पनि दुहवी बजारमा भने ५४ फिट मात्र छ । त्यहाँका घरहरू भत्काउन के गर्ने भन्ने निर्णय नै नभएको आयोजना प्रमुख बताउँछन् । त्यसैगरी, ठाउँठाउँमा बिजुली र टेलिफोनका पोलहरू सार्ने, खानेपानीको पाइप सार्ने आदि काम पनि गर्न बाँकी नै छ ।   सडकको विस्तृत प्रतिवेदन बनाउँदा इटहरी दक्षिणतर्फ बग्ने ट्यांग्रा खोलालाई के गर्ने भन्ने कुनै उल्लेख नै गरिएको छैन, जसका कारण सो क्षेत्रको सडक निर्माण कार्यले गति लिन सकेको छैन ।

सडकमै पार्किङ
निर्माण भएको सडक यति बेला ट्रक, ट्यांकर, कन्टेनर आदिको पार्किङस्थल भएको छ । विराटनगरस्थित नेपाल आयल निगमको डिपो अगाडि र रानीक्षेत्रमा सडक नै ढाक्नेगरी गाडी पार्किङ गर्ने गरिएको छ । सडक सुशासन अन्तर्गत १ नम्बर प्रदेश सरकारले त्यस्ता कामलाई रोक लगाउनु पर्ने हो । तर कारबाही नहुँदा बनेको सडकमा पनि उपभोक्ताले त्यसको सहज रूपमा प्रयोग गर्न पाइरहेका छैनन् ।

सडकमा पार्किङ हटाउन विभिन्न सम्बन्धित ठाउँहरूमा पटकपटक पत्राचार गर्दा पनि कसैले ध्यान नदिएको शर्मा बताउँछन् । हाल निर्माण भइरहेको सडक ठूला गाडीको दुई चक्काको १० टनसम्म लोड थाम्न सक्ने हो । तर कति टन क्षमतासम्मको लोड बोक्न दिने भन्ने विषयमा कसैले ध्यान दिएको छैन । सडकको नाला पनि फोहोर जम्मा गर्ने ठाउँ जस्तो मात्र भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)