ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ वर्षमा पुरै कर्णाली झिलिमिली : ऊर्जामन्त्री पुन

Nov 7, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान २१, कार्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले नेपाल विद्युत्मा आत्मनिर्भर बन्दै गएको बताएका छन् । विगतका वर्षहरुमा विदेशी राष्ट्रबाट विद्युत् आयात धेरै भए पनि अहिले क्रमशः विद्युत आयात कम हुँदै गएको उनले बताएका हुन् । नेपाल पत्रकार महासंघ सल्यानले बिहीवार सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल विद्युतीय ऊर्जामा आत्म निर्भर बन्दै गएको छ, विदेशबाट आयात हुने विद्युत कम हुँदै गएको छ, आगामी वर्ष नेपालमा उत्पादन भैरहेको विद्युत दोब्बरले बढाउने गरी सरकारले काम थालेको छ ।’ फलस्वरुपः अबको २ बर्षमा पुरै कर्णाली झिलिमिली हुने उनको भनाइ छ । उनले कर्णाली प्रदेशका सबै बस्तीहरुमा विद्युत पु¥याउनका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको बताए ।

सरकारले समृद्धिको सपना बोकेर काम अगाडी बढाइरहेको भन्दै उनले अबको २ वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नु नपर्ने बताए । उनले भने, ‘कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहुँचबाट बाहिर रहेका छन्, सरकारले नै विद्युतीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ, अब कुनै पनि नागरिक विद्युत सेवाबाट वञ्चित हुनुपर्दैन ।’

‘अहिलेसम्म विद्युत उत्पादन कम भएकोले सबै ठाउँमा पुग्दैन की भन्ने चिन्ता थियो, अब उत्पादन बढी भएपछि खपत हुँदैन कि भन्ने चिन्ता हुन थालेको छ,’ उनले भने, ‘एकातिर विद्युत उत्पादन बढी भएर खपत नहुने, अर्कोतिर नागरिकहरु अध्यारोमा बस्नुपर्ने हुनसक्छ, यसका लागि स्थानीय तहले पनि विद्युत विस्तारमा तिव्र रुपमा लाग्नुपर्ने समय आएको छ ।’

‘पोल नभएको ठाउँमा पोल गाड्नुस्, पोल गाडेको ठाउँमा तार तान्नुस र तार तानेको ठाउँमा बिजुली जोडेर सबै बस्तिमा विद्युत पु¥याउनुस् । यसका लागि के सहयोग गर्नुपर्छ संघीय सरकार तयार छ,’ मन्त्री पुनले भने । कर्णाली प्रदेश भित्रका नदीनालाहरुबाट पनि बहुउद्देश्यीय आयोजना निर्माण गर्न सकिने सम्भावना रहेकाले त्यस्ता योजनाहरुको अध्ययन गरिने जानकारी दिए । नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार सल्यानमा हालसम्म ३५ प्रतिशत नागरिकमा मात्रै विद्युतको पहुँच पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)