ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक निर्माणमा ढिलाइले दुर्घटनाको जोखिम बढ्यो 

Nov 12, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । विराटनगर हुँदै किमाथांका जोड्ने ६ लेन सडकमा दुर्घटनाको जोखिम बढेको छ । बीचमै अपूरो छाडिएका नाला र  खाल्डाहरूले उक्त सडक असुरक्षित बन्दै गएको हो । सडकको काम अस्तव्यस्त हुँदा नालामा लडेर स्थानीय बासिन्दाको मृत्यु हुनुका साथै खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढ्दै गएको छ ।

सडकको नालामा स्ल्याब नराखिँदा आम सर्वसाधारण जोखिमपूर्ण रूपमा हिँड्न बाध्य छन् । पछिल्लो ६ महीनामा सडकको नालामा डुबेर तीन जनाको मृत्यु भइसकेको छ भने दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । स्थानीय भानु दाहालका अनुसार उक्त सडकमा दैनिक ५–६ ओटा सवारी दुर्घटना हुने गरेको छ । ठेकेदार कम्पनीको ढिलासुस्ती र सम्बन्धित निकायको बेवास्ताले ८ महीनादेखि सडकको काम अघि नबढेको उनले बताए । 

सडक जोखिमपूर्ण बनेको भन्दै स्थानीयवासीले यथाशक्य छिटो व्यवस्थित गर्नुपर्ने माग गरेका छन् । विराटनगर–किमाथांका सडक परियोजनाको कार्यालयमा गएर सडक निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको इटहरी उपमहानगरपालिका–२० का अध्यक्ष मणिराम श्रेष्ठले बताए । ‘सडक समयमै सम्पन्न नहुँदा जोखिम बढेको छ । यसबारे  आयोजनाका हाकिमलाई भेटेर कुरा राखिसक्यौं, तर कार्यान्वयन भएको छैन ।’

सडक पूर्णरूपमा निर्माण हुन नसक्दा यातायात व्यवस्थानमा पनि कठिनाइ भएको ट्राफिक प्रहरी कार्यालयले बताएको छ । समयमै सडक निर्माण नभएकाले ट्राफिक संकेत तथा सूचना राख्ने, नियम पालना गराउने जस्ता काममा बाधा पुगेको एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख भीम दाहालले बताए । ‘सडक निर्माणाधीन छ । बाटो काट्ने ठाउँ समेत बनाउन सकिएको छैन,’ उनले भने । तरहरादेखि इटहरीसम्म बन्दै गरेको सडक अहिले अलपत्र छ । यसबाट दैनिक हजारौं यात्रुले सास्ती खेप्नुपरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)