विराटनगर । विराटनगर भन्सार नाकाबाट गत आव २०७५/७६ को प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा आयात घटेको छ । यो नाकाबाट गत आवको पहिलो ३ महीनामा ६५ अर्ब ६२ करोड रुपैयाँका सामग्री आयात भएकोमा चालू आवको यही अवधिमा ५२ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ ।
गत आवको पहिलो ३ महीनामा निर्यात भने ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको भएको थियो, जसमा व्यापारघाटा ५९ अर्ब २५ करोड रुपैयाँ थियो । यस्तै चालू आवको सोही अवधिमा ७ अर्ब ७५ करोड रुपैयाँको मालवस्तु निकासी भएको कार्यालयको तथ्यांक छ । यससँगै व्यापार घाटा पनि ४४ अर्ब ५० करोड रुपैयाँमा झरेको छ । बाँकी ९ महीनाको आयात अवस्था पनि अहिलेको जस्तै रहे व्यापार घाटा अझै कम हुने विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले बताए ।
सरकारले आयातित इनर्जी ड्रिंक्समा प्रतिबन्ध लगाएकाले आयात घट्दै गएको भन्सार प्रमुख मीमांशु अधिकारीले जानकारी दिए । चालू आवमा सवारीसाधन र स्पेयर्स पार्ट्सको आयातमा पनि कमी आएको छ । भन्सार अधिकारीका अनुसार राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले अध्ययन गरी आयात रोक लगाउने सामग्रीको सूची सिफारिश गरेको थियो । सोही आधारमा मन्त्रिपरिषद्ले क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ (इनर्जी ड्रिंक), प्लास्टिक लगायत विभिन्न सामग्रीको आयातमा पूर्णरूपमा बन्देज लगाएको छ ।
चालू आवको पहिलो ३ महीनामा विराटनगर भन्सारबाट पेट्रोलियम पदार्थ, स्टिल तथा फलाम, मेशिनरी, खाद्यान्न लगायतको आयात उच्च छ । यीमध्ये पहिलो स्थानमा इन्धनको आयात रहेको छ । कार्यालयका अनुसार गत आवमा यो नाका भएर नेपालको कुल मागको ५२ प्रतिशत खाद्यान्न, ६९ प्रतिशत पेट्रोलियम पदार्थ, ४८ प्रतिशत नयाँ सवारीसाधन र ३८ प्रतिशत औषधि आयात भएको थियो ।
विराटनगर भन्सार कार्यालयका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा भारतबाट २९ प्रतिशत, चीनबाट ७ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १७ दशमलव ४ प्रतिशत बढेको थियो । तर चालू आवको ३ महीनामा भारत तथा तेस्रो मुलुकबाट आयात हुने वस्तुमा निकै कमी आएको छ । भन्सार कार्यालयका सूचना अधिकृत पौडेलले अघिल्लो आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँको वस्तु आयात भएको जानकारी दिए । सो अवधिमा १७ अर्ब ८९ करोड ७४ लाख रुपैयाँको वस्तु भारत तथा तेस्रो मुलुक निर्यात भएको थियो ।
राजस्वको लक्ष्य पूरा भएन
आयात घटेसँगै विराटनगर भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको छैन । कार्यालयले चालू आवको साउनमा २ करोड ७१ लाख राजस्व संकलन गरेको छ । यो महीना ३ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । यस्तै भदौ महीनामा ४ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिए पनि ३ करोड २८ लाख रुपैयाँ मात्र संकलन गरेको छ । असोज महीनामा ४ करोड ९७ लाख राजस्व उठाउने लक्ष्य राखेको कार्यालयले २ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ ।