ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानमा फोहोरबाट ग्यास उत्पादनको तयारी

पाइपलाइनबाट ग्यास वितरण गर्ने उपमहानगरको योजना

Nov 14, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरान उपमहानगरपालिका–६, पानबारीमा फोहोरबाट ऊर्जा उत्पादनका लागि प्लान्टको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरले फोहोरमैलालाई व्यवस्थापन गर्दै बायोग्यास उत्पादन गर्न निजी कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरेको हो ।

प्लान्टबाट निस्किने ग्यास पाइपलाइनबाट पानबारीका स्थानीयलाई वितरण गर्ने उपमहानगरको योजना छ । करीब डेढ महीनामा निर्माण भइसक्ने प्लान्टबाट पहिलो चरणमा ट्याम्पोमा प्रयोग गर्ने ग्यास उत्पादन गरिने र पूर्ण सञ्चालनपछि स्थानीयलाई वितरण थालिने उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । 

उनका अनुसार बायोग्यासलाई एलपी ग्यासमा परिवर्तन गरेर पानबारीका २ हजार घरधुरीमा वितरण गर्न सहकार्यका लागि पहल भइरहेको छ । ग्यासको पाइपलाइनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र विश्व बैंकसँग सहकार्यका लागि प्रयास भइरहेको तथा सर्वे थालिएको उनले बताइन् ।  उनले भनिन्, ‘ग्यास उत्पादन गर्न थालेपछि धरान आसपासका शहरबाट पनि फोहोर संकलन गरेर व्यवस्थापन गर्न सक्छौं ।’

फोहोरबाट बायो ग्यास तथा जैविक मल उत्पादनका लागि विभिन्न प्रकारका ६ ओटा प्लान्ट रहनेछ । धरानमा उत्पादन हुने दैनिक ५० टन फोहोरलाई ग्यासमा परिवर्तन गर्न सकिने उपमहानगरसँग सहकार्य गरिरहेको भेन्चर वेस्ट टु इनर्जी प्रालिका सुपरभाइजर कोषराज दाहाल बताउँछन् । 

अहिलेको तथ्यांकअनुसार प्लान्टसँग दैनिक १२ सय केजीसम्म ग्यास र ४ सय केजीसम्म मल उत्पादन गर्ने क्षमता रहेको उनले बताए । उनका अनुसार करीब डेढ महीनामा परीक्षण शुरू हुने भएको छ । कम्पनीले कुल २० करोडको लगानीमा प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । 

व्यावसायिक रूपमा ग्यास उत्पादन गर्न थालेपछि कम्पनीले कारोबारको १ प्रतिशत आम्दानी उपमहानगरलाई पनि बुझाउने सम्झौता भएको छ । कम्पनीले पानबारीमा १ बिघा २ कट्ठा जमीनमा संरचनाहरू तयार गर्दै छ । कम्पनीले २० वर्षपछि परियोजना नै धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । 

ग्यास उत्पादनबाट पानवारीबासीलाई रोजगारीका साथै ग्यास उपभोगमा समेत सहज बनाउने अपेक्षा गरिएको छ । यो योजनाले धरानको फोहोर व्यवस्थापनको समस्या समाधान हुने धरान–६ का अध्यक्ष भुवन सिंह बस्नेत बताउँछन् । ग्यास कम्पनीको अवलोकन गर्न विभिन्न क्षेत्रबाट मानिसहरु आउँदा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने उनले बताए । योजनाबाट व्यवस्थापन गर्न जटिल समस्या बन्दै गएको फोहोरलाई मोहरमा परिणत गर्दै धरानको आयस्रोतमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)