ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ लेन सडकको मापदण्डमा एकरूपता ल्याउन स्थानीयको माग

Nov 21, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । रानी–विराटनगर हुँदै किमाथांका जोड्ने ६ लेन सडक अन्तर्गत इटहरी बजार क्षेत्रमा मापदण्ड विपरीत सडक विस्तार भएको भन्दै स्थानीयले विरोध गरेका छन् । सडक ८२ फुट चौडा गर्नुपर्नेमा सडक आयोजनाले इटहरीको मुख्य चोक आसपासमा ५५ फिट मात्र चौडा गरेपछि स्थानीयवासीे मापदण्डमा एकरूपता ल्याउन माग गर्दै आन्दोलित भएका छन् । केही दिनअघि आयोजनाले इटहरीको मुख्य बजार क्षेत्रको सडक नाली सहित ५५ फिटमा विस्तार गर्न थालेको थियो । 

सडकको मापडण्ड विरुद्ध स्थानीयवासीले गत शनिवार २०१ सदस्यीय संघर्ष समिति बनाएका थिए । समितिले गत आइतवार इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई ज्ञापनपत्र बुझाएको छ । आयोजनाले सडकको मापदण्डमा एकरूपता भएको भनी सार्वजनिक अभिव्यक्ति दिएकाले त्यसको सर्वपक्षीय अनुगमन गर्न उपमहानगरपालिकालाई आग्रह गरिएको छ ।

राजमार्ग ऐनले सडकको सीमा केन्द्रबाट २५–२५ मिटर कायम रहनेगरी सर्भिस लेनको व्यवस्था गरेकाले सो कायम गराउन पनि ज्ञापनपत्रमा माग गरिएको छ । उक्त माग सम्बोधन नभए आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ । आयोजनाले इटहरी मुख्य चोकदेखि दक्षिण र उत्तरतर्फ २५–२५ मिटर कायम गरेर सडक विस्तार गर्न थालिएको बताएको छ ।

रानी–विराटनगर–इटहरी–धरान हुँदै किमाथांका जोड्ने सडकको मापदण्डमा एकरूपता नहुनु विडम्बना भएको संघर्ष समितिका संयोजक मदन चुडालले बताए । ‘राष्ट्रिय गौरवको आयोजनाकै मापदण्डमा एकरूपता नहुँदा स्थानीय बासिन्दाबीच नै विवाद र द्वन्द्व सृजना हुने खतरा छ,’ उनले भने, ‘यस्तो अवस्था आउन नदिन उपमहानगरपालिकाले समयमै उचित निर्णय लिनु जरुरी छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Rajesh

[Nov 21, 2019 12:40am]

Ramaro sangale road bistar garnu parxa 82fut nai banaunu parxa haina vane dherai thulo bibad hunexa



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)