ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिँचाइ र कृषि सडकमा रू. ७ करोड खर्च गरिँदै

Nov 22, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन


सल्यान । सल्यानमा सिँचाइ कुलो र कृषि सडक निर्माणका लागि रू. ७ करोडभन्दा बढी खर्च गरिने भएको छ । चालू आवमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लामा सिँचाइ र कृषि सडकमा उक्त बजेट खर्चन लागेको हो । जिल्लामा साना तथा मझौला सिँचाइ कुलो बनाउन ४ करोड २० लाख र कृषि सडक निर्माणका लागि २ करोड ९० लाख रुपैयाँ खर्च गर्न लागिएको हो ।

प्रदेश सरकारले कृषिको आधुनिकीकरण, व्यावसायिकता विकास र कृषि उपजको बजारीकरण गर्ने तथा गाउँलाई बजारसँग जोड्ने उद्देश्यले सडक निर्माण गर्न लागिएको बताएको छ । कर्णाली प्रदेशले ‘अर्गानिक कर्णाली’को नारासहित कृषिक्षेत्रको विकासमा प्राथमिकता दिएको छ । जिल्लाका १० स्थानीय तहमा २६ ओटा साना तथा मझौला सिँचाइ कुलो बनाइने कृषि विकास कार्यालय, सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए । उनका अनुसार सिँचाइतर्फ छत्रेश्वरी गाउँपालिकामा चारओटा योजनाका लागि ६५ लाख, कालीमाटी गाउँपालिकामा चारओटा योजनाकै लागि ५५ लाख र त्रिवेणी गाउँपालिकामा तीनओटा योजनामा ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै बन्गाड कुपिन्डे गाउँपालिकामा दुई योजनाका लागि ६० लाख, दार्मा गाउँपालिकामा दुई योजनाका लागि ५० लाख, कुमाख गाउँपालिकामा दुईओटा योजनाका लागि ३० लाख, सिद्धकुमाख गाउँपालिकामा एउटा योजनाका लागि २० लाख, बागचौर नगरपालिकामा दुईओटा योजनाका लागि ३० लाख, शारदा नगरपालिकामा तीनओटाका लागि ४० लाख र कपुरकोट गाउँपालिकामा तीनओटा योजनाका लागि ४० लाख रुपैयाँ विनियोजन भएको छ ।

जिल्लामा चालू आर्थिक वर्षमा २४ ओटा कृषि सडक बनाइने भएको छ । यस अन्तर्गत छत्रेश्वरी गाउँपालिकामा चारओटा कृषि सडकका लागि ४० लाख, त्रिवेणीमा दुईओटाका लागि २० लाख, कालीमाटीमा एउटाका लागि १० लाख, बन्गाड कुपिन्डेमा तीनओटाका लागि ४० लाख र दार्मा गाउँपालिकामा दुईओटाका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै कुमाख गाउँपालिकामा एउटा सडकका लागि १० लाख, बागचौर नगरपालिकामा चारओटाका लागि ४० लाख, शारदा नगरपालिकामा चारओटाका लागि ४० लाख र कपुरकोट गाउँपालिकामा तीनओटा कृषि सडक निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन भएको छ । सिँचाइ कुलो तथा ग्रामीण कृषि सडक निर्माण तथा मर्मत–सम्भारका लागि कृषि विकास कार्यालयले सम्झौता गर्न थालेको छ ।

सिँचाइ तथा सडक निर्माणमा सम्बन्धित क्षेत्रका लाभग्राहीले १० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ । कृषि तथा फलफूल खेतीका लागि प्रख्यात मानिएको सल्यानमा गत आर्थिक वर्षमा कृषि सडक निर्माणका लागि ३ करोड ४७ लाख ७८ हजार रुपैयाँ खर्च भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)