ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीयको विरोधपछि विद्युत् प्रसारण लाइन भूमिगत

Dec 1, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई


विराटनगर । मोरङको कटहरीमा स्थानीय बासिन्दाले लगातार विरोध गर्दागर्दै पनि दुहबी–कटहरी ३३ केभी विद्युत् प्रसारण लाइनको तारलाई भूमिगत बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । टावरबाट विद्युत् प्रसारण लाइनको तार लैजान अवरोध गरेका मोरङको ग्रामथान गाउँपालिका–५, गिधनीयाका केही स्थानीयले भूमिगत बनाएर लैजाने योजनाको समेत विरोध गरेका थिए । 

पटक–पटक छलफल गर्दा समेत स्थानीयले अवरोध कायमै राखेपछि बिहीवारदेखि बल प्रयोग गरेर बस्ती रहेको साढे २ किलोमिटर क्षेत्रमा भूमिगत रूपमा तार बिछ्याउन थालिएको हो । खाल्डो खनेर पाइप बिछ्याउने कार्य शनिवारसम्ममा सकिने नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश कार्यालयका प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिए । 

प्रसारण लाइनको तार भूमिगत गर्न करीब ४ करोड रुपैयाँ लाग्ने अनुमान छ । उनले भने ‘आइतवार पाइपभित्र विद्युत्को तार राख्ने कार्य सकिन्छ ।’ उनले २ दशमलव ५ किलोमिटर क्षेत्रमा त्यसरी खाल्डो खनेर तार बिछ्याइने जानकारी दिए । ६ महीनाअघि नै सम्पन्न हुने प्रसारण लाइन निर्माणको काम स्थानीयको विरोधका कारण रोकिएको थियो । 

गिधनीयावासीले आफ्नो घरमाथिबाट हाइटेन्सन लाइन जाँदा विभिन्न रोग लाग्ने र प्रजनन शक्ति नष्ट हुने भन्दै बस्ती अन्यत्रैबाट तार टाँग्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए । उक्त आन्दोलन उचाल्न सोही क्षेत्रबाट निर्वाचित प्रनिनिधिसभा सांसद अमनलाल मोदीले नेतृत्व गरेको आरोप लागेको थियो । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सांसद मोदीसहित बसेर ४५ दिनभित्रै प्रसारण लाइनको काम सम्पन्न गर्ने गत कात्तिक १ गते सहमति भएको थियो । 

तर उक्त सहमतिबारे आफूहरूलाई केही थाहा नभएको भन्दै स्थानीयले अवरोध कायमै राखेका थिए । जनताको कुरा नसुनी प्रहरीले बल प्रयोग गरेर तार बिछ्याएको स्थानीय मनोज विश्वासले बताए । उनले बिहीवार दिउँसो ३ बजे एस्क्याभेटरसहित पुगेको प्रहरीले स्थानीयलाई पक्राउ गर्ने चेतावनी दिँदै बस्ती भएको क्षेत्रमा खन्न थालेको जानकारी दिए । गुनासो गर्न गएका स्थानीयलाई प्रहरीले अभद्र व्यवहार गर्दै लखेटेको समेत उनको आरोप छ । 

सोही वडाका अध्यक्ष खड्गनारायण खाँले उक्त विवादको समाधानका लागि कैयौं पटक छलफल गरे पनि कसैले पनि अडान नछोड्दा यस्तो परिस्थिति निर्माण भएको बताए । स्थानीय र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत भएको उनले जानकारी दिए । 

उक्त प्रसारण लाइन समयमा नबन्दा कटहरी क्षेत्रका उद्योगहरूले अत्यधिक ट्रिपिङको समस्या भोग्दै आएका छन् । विराटनगरको बजार क्षेत्रमा नियमित विद्युत् आपूर्तिका लागि समेत प्रसारण लाइनको चाँडो निर्माण गरी कटहरी–१ महेशपुरमा निर्माण भइसकेको सबस्टेशनलाई तुरुन्तै चार्ज गर्नुपर्ने प्राधिकरणको जिम्मेवारी छ । उक्त सबस्टेशन चार्ज भएमा कटहरीदेखि रंगेलीसम्मको विद्युत्को अनियमित प्रवाहको समस्या शतप्रतिशत समाधान हुने दाबी गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)