ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेशको योजना संघमा : बजेट नहुँदा काम सुस्त

Dec 2, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर


सुनसरी । प्रदेशको योजना संघमा गएपछि बजेट नबढ्दा इटहरी उपमहानगरपालिकामा खानेपानी आयोजनाको काम सुस्त बनेको छ । ५ वर्षदेखि निर्माणाधीन खानेपानी आयोजना बजेट अभावकै कारण अझै सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजनाको काम सक्न ८ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर संघले वर्षेनि २० लाख रुपैयाँ मात्र विनियोजन गरिदिएको छ । संघले विनियोजन गरेको वार्षिक बजेट हेर्दा उक्त आयोजनाको काम सक्न ४ दशक लाग्ने देखिन्छ ।

‘प्रदेशबाट योजना संघमा गएपछि थोरै बजेट आउने गरेको छ,’ इटहरी खानेपानी डिभिजन कार्यालयका सहायक इन्जिनीयर प्रमोदकुमार दत्तले भने, ‘अहिले बजेट अभावकै कारण काम रोकिएको छ ।’ २०७१ फागुन ५ गते राष्ट्रिय योजना आयोगका सदस्य प्रेमप्रसाद दंगालले शिलान्यास गरेका थिए । ३ हजार २०० घरपरिवारलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्य सहित आयोजना शुरू गरिएको थियो ।

खानेपानी नहुँदा कलको पानी खान बाध्य भएको इटहरी २० तरहराका पासाङ घिसिङले बताए । ‘२ वर्षअघि नै खानेपानी आउँछ भनेका थिए, अहिलेसम्म आएन,’ उनले भने, ‘खानेपानीको विस्तार नहुँदा दुर्गम गाउँमा बसे जस्तो अनुभव भएको छ ।’ 

खानेपानी आयोजना आर्थिक अभावले समस्यामा परेको तरहरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्ष केशर प्रधानले बताए । ‘पाइपलाइन बिच्छ्याउन पाइप र फिटिङको सामान नहुँदा खानेपानीको काम अगाडि बढ्न नसकेको हो,’ उनले भने, ‘जतिसक्दो पानी चाँडै वितरण गर्ने तयारी थियो । तर सरकारले अपुग बजेट दिँदा समस्या भयो ।’ इटहरी उपमहानगरपालिका–१९ र २० का अधिकांश बासिन्दाले बोरिङबाट निकालिएको पानी पिउँदै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)