सुर्खेत । सुर्खेतमा मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्शन एन्ड रेन्जिङ’ सञ्चालनमा आएको छ । सुर्खेत–दैलेखको सीमामा पर्ने रातानाङ्लामा जडित उक्त प्रणाली (राडार)को मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन् । विश्व बैंकको १७ करोड रुपैयाँ लागतमा मौसमी सूचना दिने राडार जडान गरिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
उक्त राडार मौसमको पूर्वसूचना दिने अहिलेसम्मकै आधुनिक प्रविधि भएको दाबी विभागले गरेको छ । विभागका अनुसार मौसमी सूचना प्रणालीलाई विश्वस्तरीय बनाउने लक्ष्यसहित सुर्खेतमा उक्त राडार सञ्चालनमा ल्याइएको हो । २०७५ कात्तिक १४ गते निर्माण सम्पन्न भएको राडार विभिन्न अन्योलका कारण सञ्चालनमा आउन सकेको थिएन । अमेरिकास्थित इन्टरप्राइज इलेक्ट्रोनिक्स को–अपरेशन (ईईसी)को प्राविधिक सहयोगमा राडार जडान गरिएको विभागले बताएको छ ।
सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग, काठमाडौंबाट संकलन गरिनेछ । संकलित सूचना प्रवाह तथा अन्य विषयमा भने सुर्खेतस्थित जल तथा मौसम विज्ञान विभागको कार्यालयले समन्वय गर्नेछ । उक्त राडारले ४०० किलोमिटर वरपरसम्मको मौसमबारे जानकारी दिने बताइएको छ । जल तथा मौसम विज्ञान विभागले नेपालका तीन ठाउँमा राख्न प्रस्ताव गरेका उक्त प्रणालीमध्ये काम सम्पन्न भएको यो नै पहिलो हो ।
मौसम विभागकी प्रवक्ता अर्चना श्रेष्ठले नयाँ जडित राडारबाट अब मौसम सम्बन्धी वास्तविक सूचना पाउन सकिने बताइन् । ‘यो नेपालमा पहिलोपटक भिœयाइएको प्रविधि हो,’ उनले भनिन्, ‘त्यसैले यसलाई पूर्ण प्रयोगमा ल्याउन अझै धेरै अनुसन्धान र अभ्यास आवश्यक पर्छ ।’ नेपालको मध्य क्षेत्रका लागि पाल्पा र पूर्वी क्षेत्रका लागि उदयपुरमा यस्तै राडार राख्ने तयारी भइरहेको जानकारी उनले दिइन् । यी दुई ठाउँमा राडार राखिएपछि पूरै नेपालको मौसमी जानकारी संकलन गर्न सकिने उनको भनाइ छ । तीनओटै क्षेत्रमा राडार सञ्चालन गर्न अझै १ वर्ष लाग्ने उनको अनुमान छ ।
कार्यक्रममा मन्त्री पुनले कतिपय प्राकृतिक विपत्तिको सम्भावित क्षतिबाट बच्न राडारले महŒवपूर्ण सघाउ पुग्ने बताए । ‘राडारले दिने पूर्वसूचनाका आधारमा समयमै जोखीम व्यवस्थापनको तयार गर्न सकिन्छ,’ उनले भने । उनले राडारले दिने सूचना तत्काल हरेक नागरिकसम्म पुग्ने व्यवस्था मिलाउन उनले सम्बन्धित निकायलाई निर्देशन दिए । राडारबाट मौसमसम्बन्धी सही सूचना सहज रूपमा पाइने भएकाले उड्डयन क्षेत्र सुरक्षित बनाउन पनि टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।