ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उदयपुरको बेलकामा ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालन

२०७६ फागुन, १३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । उदयपुरको बेलका नगरपालिकाले कृषकलाई सहज र सुलभ मूल्यमा कृषि उपकरण उपलब्ध गराउने उद्देश्यले ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । कृषिको आधुनिकीकरण तथा यन्त्रीकरण गर्न करीब २० करोड रुपैयाँ लागतमा उक्त सेन्टरको स्थापना गरिएको नगरपालिकाले बताएको छ । सेन्टर सञ्चालनमा आएसँगै कृषकले आधुनिक कृषि उपकरण सहुलियत शुल्क (भाडा)मा प्रयोग गर्न पाउनेछन् ।  

कृषि पेशाप्रति युवालाई आकर्षित गर्न भाडामा उपकरण उपलब्ध गराउने अवधारणा अनुसार हायरिङ सेन्टर सञ्चालनमा ल्याइएको बेलका नगरपालिकाका कृषि इन्जिनीयर बुद्धि तिम्सिनाले बताए । कृषिमा यन्त्रीकरण गरी आधुनिक खेती प्रणालीको विकास गर्न नगरपालिकाले चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममै हायरिङ सेन्टर सञ्चालन गर्ने योजना समावेश गरेको थियो । यान्त्रिक उपकरणको प्रयोगलाई प्रभावकारी बनाउन जमीनको व्यवस्थापन गर्दै कृषकलाई अभिमुखीकरण गरी कार्यक्रम अघि बढाइएको तिम्सिनाको भनाइ छ ।  उनका अनुसार नगरपालिकासँग अहिले हायरिङ सेन्टर सञ्चालनका लागि रू. २० करोड बराबरको कृषि उपकरण मौज्दातमा छन् । कार्यविधि बनाएर किसानलाई सस्तोमा भाडामा उपलब्ध गराउने गरी केन्द्र स्थापित गरिएको छ । ‘कार्यविधिलाई अन्तिम रूप दिएर कार्यान्यवनमा लैजानेछौं,’  उनले भने, ‘अहिले किसानको घरघरमा पुगेर यान्त्रिक उपकरणको प्रदर्शनी लगायत अभिमुखीकरण कार्यक्रमलाई तीव्रता दिइएको छ ।’ 

बेलकाले कृषकलाई यान्त्रिक उपकरण प्रयोग गर्ने दुई प्रकारको अवधारणा अघि सारेको छ । पहिलोमा कस्टम हायरिङ सेन्टर सञ्चालन गर्ने र दोस्रोमा  कृषक समूह, उद्यमीलाई अनुदान तथा सहुलियतमा यान्त्रिक उपकरण उपलब्ध गराउने  रहेको छ । नगरपालिकाले ठूला कृषि उपकरण सहुलियतमा उपलब्ध गराउने र साना उपकरण कृषक समूहलाई अनुदानमा उपलब्ध गराउनेछ । सेन्टरमा हाल साना उपकरणमा मकै रोप्ने मेशिन, खेत जोत्ने, जमीन सम्याउने, खनजोत गर्ने लगायत उपकरण उपलब्ध छन् । 

हायरिङ सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका किसान उत्साहित भएका छन् । उपयुक्त समयमा यान्त्रिक उपकरण पाउनु नै आफूहरूका लागि ठूलो राहत हुने किसान गणेश पौडेलले बताए । ‘ठूला उपकरण खरीद गर्न धेरै रकम आवश्यक पर्छ । यसको जोहो गर्न सामान्य कृषकले सक्दैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा आवश्यक उपकरण उपलब्ध हुनु नै ठूला सहयोग हो ।’ सेन्टर स्थापना भएसँगै उपकरण खरीदमा बिचौलियालाई कमिशन दिनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । 

परम्परागत प्रणालीबाट खेती गरिरहेका कृषकहरू पछिल्लो समय कृषि उपकरणको प्रयोगप्रति आकर्षित हुँदै गएका छन् ।  समयको बचत, उत्पादन लागत घट्ने, कम जनशक्तिबाटै काम गर्न सकिने, उत्पादनमा वृद्धि हुने लगायत फाइदाले कृषि उपकरणको प्रयोगकर्ता बढ्दै गएको नगरपालिकाले बताएको छ । 

कृषि उपकरणको प्रयोगमा कृषको आकर्षण रहे पनि ठूला उपकरण किसानका खेतसम्म पु¥याउन बाटोको समस्या रहेको इन्जिनीयर तिम्सिनाले बताए । मेशिन बिग्रिँदा आवश्यक पार्टपुर्जा नपाउने र मर्मत गर्ने वर्कशप नहुँदा पनि समस्या भोग्नुपरेको उनको भनाइ छ । यसको न्यूनीकरणका लागि नगरपालिकाले स्थानीयस्तरमै वर्कशप सञ्चालन गर्न ठेक्का दिइसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)