रुकुम । कर्णाली प्रदेशबाट ७ महीना अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४६० मुद्दा परेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को माघ मसान्तसम्म अख्तियारमा उक्त संख्याका उजुरी परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रादेशिक कार्यालय सुर्खेतका अनुसार उक्त उजुरीमध्ये १६९ ओटा फछ्र्योट भएका छन् । बाँकी २९१ मुद्दाको अनुसन्धान भइरहेकोे आयोगको कार्यालय प्रमुख शेषनारायण पौड्यालले जानकारी दिए ।
कार्यालयका अनुसार सो अवधिमा सुर्खेतबाट सबैभन्दा बढी ११५ र हुम्लाबाट सबैभन्दा कम १६ ओटा उजुरी अख्तियारमा दर्ता भएका छन् । त्यस्तै दैलेखबाट ९५, जाजरकोटबाट ५२, कालीकोटबाट ४९, जुम्लाबाट २९, रुकुमबाट ३०, सल्यानबाट ३३, मुगुबाट १७ र डोल्पाबाट २४ ओटा उजुरी परेको आयोगले जानकारी दिएको छ । उक्त अवधिमा सुर्खेतबाट परेका उजुरी सबैभन्दा बढी पछ्र्योट भएका छन् ।
पछिल्लो समय अख्तियारमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको तथ्यांक अनुसार सबैभन्दा बढी उजुरी वैशाख जेठ, असार र साउनमा पर्ने गरेको छ । विशेषगरी आर्थिक वर्षको अन्त्यमा विकास बजेट खर्च गर्ने र गुणस्तरहीन काम हुने भएकाले बढी उजुरी पर्ने गरेको हो ।
चालू आवको ७ महीनामा रुकुम पश्चिमका स्थानीय तहविरुद्ध अख्तियारमा १८ उजुरी परेका छन् । रुकुम पश्चिमका ६ ओटा स्थानीयतह विरुद्ध उक्त संख्यामा उजरी परेको कार्यालयले बताएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी उजुरी मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाविरुद्ध ४/४ ओटा परेका हुन् । चौरजहारी नगरपालिकाविरुद्ध ३ र बाँफीकोट गाउँपालिका तथा आठबिसकोट नगरपालिकाविरुद्ध एक÷एक उजुरी परेका हुन् । कार्यालय प्रमुख पौड्यालले यस वर्ष स्थानीय तहसँगै जिल्लाका विषयगत कार्यालयका ३० ओटा उजुरी परेको बताए । उनका अनुसार स्थानीय तहका १८ उजुरीमध्ये ७ ओटा फछ्र्योट भएका छन् ।