रुकुम । रुकुम पूर्वको व्यापार व्यवसायमा १ अर्बभन्दा बढी लगानी गरिएको छ । जिल्लाको व्यापार, व्यवसाय र घरेलु तथा साना उद्योगमा १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ लगानी भएको रुकुमकोट उद्योग वाणिज्य संघले बताएको छ ।
संघमा दर्ता भएका ६२२ ओटा घरेलु तथा साना उद्योग र व्यापार व्यवसायमा उक्त लगानी गरिएको संघका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिए । उनका अनुसार वाणिज्यतर्फ सबैभन्दा बढी ५१२ ओटा व्यवसाय फर्म छन्, जसमा रू. १ अर्ब २४ करोड रुपैयाँ लगानी भएको छ । त्यस्तै ८९ ओटा होटल व्यवसायमा रू. ४ करोड ४५ लाख र २१ ओटा साना तथा घरेलु उद्योगमा ४ करोड २० लाख रुपैयाँ लगानी रहेको रुकुमकोट उद्योग वाणिज्य संघ, रुकुमपूर्वले जानकारी दिएको छ । संघका अनुसार नयाँ जिल्ला बनेसँगै यहाँको व्यापार व्यवसायमा लगानी बढेको छ । नयाँ जिल्ला बनेसँगै रुकुमकोट आसपासका क्षेत्रमा व्यापार व्यवसाय र घरजग्गाको कारोबार उच्च छ । तर लामो समयसम्म सदरमुकामको टुंगो नलाग्दा केही समस्या देखिएको स्थानीयले बताएका छन् । पछिल्लो समय रुकुम पूर्वको रुकुमकोटमा १ दर्जनभन्दा बढी ठूला होटल समेत खुलेका छन् । नयाँ जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोटमा व्यापारी चहलपहल बढेको बताएको छ । रुकुम पूर्वको सदरमुकामको विषयमा गोलखडा र रुकुमकोटवासीबीच विवाद भई पछिल्लो समय मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।
रुकुम पूर्वका १ हजारभन्दा बढी रोजगारी भएका छन् । घरेलु तथा साना उद्योग र व्यापार व्यवसायबाट १ हजार १२६ जनाले राजगारी पाएको रुकुमकोट उद्योग वाणिज्य संघ रुकुम पूर्वले जानकारी दिएको छ । रुकुम पूर्वका ३८६ उद्योग व्यापारी निष्क्रिय भएका छन् । रुकुम पूर्वको उद्योग वाणिज्य संघमा दर्ता भएका व्यापार व्यवसाय निष्क्रियको सूचीमा रहेका छन् ।
रुकुम पूर्वका दर्ता भएका १ हजार ८ ओटा व्यवसाय फर्ममध्ये ६२२ ओटा मात्र सञ्चालन छन् । बाँकी ३८६ ओटा व्यवसायी बन्द रहेका छन् । लामो समयसम्म फर्म दर्ता नवीकरण नगराउने उद्योगी व्यापारी निष्क्रियको सूचीमा रहेको रुकुमकोट उद्योग वाणिज्य संघ, रुकुम पूर्वका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिए ।