ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना भाइरससँग सम्बन्धित गलत स्वास्थ्य सुझाव

Mar 14, 2020  
स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

चैत १,  काठमाडौं । कोरोना भाइरस विश्वभर फैलिएको छ । विश्व संगठनले यसलाई विश्वव्यापी महामारीको संज्ञा दिएको छ । अहिलेसम्म यसको न त कुनै खोप पत्ता लागेको छ न त औषधि नै । तर यसबारे सामाजिक सञ्जालमा विभिन्न खाले स्वास्थ्य सुझाव देख्न र पढ्न पाइन्छ ।

यस्ता सुझावहरु केही कामै नलाग्ने छन् केही हानीरहित छन् अनि केही भने एकदम खतरनाक छन् । सामाजिक सञ्जाल तथा अनलाइनभर व्याप्त यस्ता दाबीबारे बीबीसीले तयार पारेको फिचरको संक्षेप यस प्रकार छ : 
१. लसुनको सेवन : 

पछिल्लो समय भाइरसको संक्रमण रोक्न लसुनको पोटी खानु पर्छ भन्ने सुझावसहित म्यासेन्जरमा अनेक पोष्ट आएको छ । लसुन स्वास्थ्यबर्द्धकखानेकुरा हो । यसमा ‘एन्टिमाइक्रोबायल’ तत्व पाइन्छ । 

तर लसुन खाएर मानिसहरु नयाँ कोरोना भाइरसबाट सुरक्षित भएको प्रमाण भने पाइएको छैन । धेरै जसो अवस्थामा यस्ता घरेलु उपचार पद्दति खासै हानिकारक हुँदैनन् ।विशेषगरी घरेलु विधि अपनाउनकै लागि प्रमाणमा आधारित मेडिकल सुझाव नमान्ने हो भने ।

तर धेरै लसुन सेवन गर्दा अस्पताल नै भर्ती गर्नुपर्ने स्थिति आउन सक्छ । एक महिलाले डेढ किलो काँचो लसुन खाएपछि घाँटी अति सुन्निएर अस्पताल भर्ती भएको भन्दै साउथ चाइन पोष्टले केही समय अघि बताएको थियो । सामान्यतः ताजा फलफूल र तरकारी खाने अनि प्रशस्त पानी पिउनु स्वस्थ रहनका लागि लाभदायक छ भन्ने हामीलाई थाहा छ ।
 तर यसले निश्चित खालको भाइरसविरुद्ध लड्न मद्दत गर्छ भन्ने चाहिं कुनै प्रमाण भेटिएको छैन । 

२. चमत्कारी खनिज

युट्यूवर जोर्डन साथरले केही दिनअघि एक भिडियोमा कोरोना भाइरस भगाउने ‘चमत्कारी खनिज पूरक’ (एमएमएस) भएको दाबी गरेका थिए । यसमा क्लोराइना डाइअक्साइट छ । भाइरसको प्रकोप शुरु हुनु अघि नै साथर र अन्य केहीले यसको प्रवद्र्धन गरेका थिए । 

यसले क्यान्सर सेल समेत मार्ने उनीहरुको दाबी छ । तर गत वर्ष अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले भने एमएमएस सेवनले स्वास्थ्यमा पार्नसक्ने जोखिमबारे चेतावनी दिएको थियो । अन्य देशका स्वास्थ्य अधिकारीहरुले पनि यसबारे चेतावनी जारी गरेका छन् । एमएमएस सेवनले वाकवाक लाग्ने, बान्ता हुने, पखाला लाग्ने र चरम ‘डिहाइड्रेशन’ हुने एफडीएको चेतावनी छ । 
 

३. घरमा बनाइएको ह्यान्ड स्यानीटाइजर 

भाइरस रोक्न महत्वपूर्ण तरिका भने बारम्बार हात धुनु पनि हो । तर पछिल्लो समय बजारमा हयान्ड स्यानीटाइजर जेलको चरम अभाव छ । यस्तोमा सामाजिक सञ्जालभर घरमा हयान्ड स्यानीटाइजर बनाउने रेसीपीको बाढी नै आएको छ ।


 

तर यसरी तयार पारिएका स्यानीटाइजर सतह सफा गर्न काम लागे पनि छालाको लागि भने हानिकारक भएको विज्ञहरु बताउँछन् । अल्कोहलबाट बनाइएका स्यानीटाइजरमा इमोलिएन्ट हुन्छन् । यसमा ६०–७० प्रतिशत अल्कोहल भएपनि  इमोलिएन्टकै कारण छाला नरम रहन्छ । तर घरमा बनाइएको स्यानीटाइजरमा यस्तो हुँदैन । 

४. पिउन मिल्ने चाँदी

केही दिन अघि अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता जिम बेकरको कार्यक्रममा कोलोइडल चाँदीको प्रयोगबारे बताइएको थियो । कोलोइडल चाँदी तरल चाँदी हो । कार्यक्रममा आएका एक आगन्तुकले यो सेवन गरेको १२ घन्टा भित्रै कोरोना भाइरस मर्ने दाबी गरेका थिए । 

यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्ने र अन्य स्वास्थ्य समस्या हट्ने दाबी पनि गरिएका छन् । यसबारे फेसबुक लगायत विविध सामाजिक सञ्जालमा निकै प्रसार पनि भएका छन् । तर अमेरिकी स्वास्थ्य अधिकारीहरुले भने यसले लाभ मिल्ने प्रमाण नभेटिएको बताएका छन् । बरु उल्टै यसले मृगौलामा क्षति पुर्‍याउने छाला पोल्ने लगायत समस्या आउन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । 
 

५. हरेक १५ मिनेटमा पानी पिउने 

मुखबाट शरीरभित्र छिरेको भाइरस हटाउन हरेक १५/ १५मिनेटमा पानी खान एक जापानी डाक्टरले दिएको सल्लाह फेसबुकमा निकै शेयर भएका छन् । यसको अरेबिक संस्करण त साढे २ लाख पटक भन्दा शेयर भएको छ । तर ती डाक्टरको भनाइलाई टेवा दिने खालको कुनै जैविक संयन्त्र नभएको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक ट्रडाई ल्याङ बताउँछन् । 
पानी खाएकै भरमा स्वासप्रस्वास प्रणालीमा छिरेको भाइरसलाई पखालेर मार्न नसकिने उनको भनाइ छ ।  

कोरोना भाइरस जस्ता संक्रमण स्वास नलीमार्फत शरीरभित्र छिर्छन् । केही मुखमा पनि छिर्न सक्छन् । प्रशस्त पानी पिउनु  स्वास्थ्यको लागि राम्रो हो । तर तारन्तार पानी खाएर भाइरसले छुँदैन भन्नु चाहिं गलत हो । 
 

६. तातोमा बस्ने, चिसो नखाने 

यो सुझावका अनेक संस्करण छन् । जस्तैः तातोले भाइरस मर्छ । तातो पानीको सेवन वा तातो पानीमा नुहाउ । हेयर ड्रायरको प्रयोग गर आदि आदि । अझ केही पोष्टमा त युनिसेफले नै तातो पानी खाउ र भाइरसलाई मार्न घाममा बस, आइस क्रिम नखाउ भन्यो भनेर दाबी समेत गरिएका छन् ।

 तर यो सत्य नभएको युनिसेफमा काम गर्ने चार्लोट गार्निज्का बताउँछिन् । गर्मीयाममा शरीर बाहिर फुलु बाच्न सक्दैन भन्ने हामीलाई थाहा छ । तर नयाँ कोरोना भाइरसमा घामको प्रभावबारे हामीहरुलाई अहिलेसम्म केही पनि थाहा छैन । यस्तो गरेर भाइरस मर्दैन, एक पटक शरीरमा भाइरस छिरेपछि शरीरले आफैंले योसँग लड्नु पर्छ भन्छन् विज्ञहरु । 


शरीभन्दा बाहिर पनि यसलाई मार्न ६० डिग्री सेल्सियस आसपासको तापक्रम चाहिन्छ । बारम्बार तातो पानी सेवनले शरीरको तापक्रममा कुनै परिवर्तन ल्याउँदैन, यो स्थिर नै रहन्छ । त्यसैले तातो पानी सेवनले कोरोनालाई मार्दैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)