ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना भाइरसको कारण चीनबाट आउने सामग्री घट्यो

विराटनगर भन्सारमा १ अर्ब ९२ करोड राजस्व घट्यो

Mar 16, 2020  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

चैत ३, विराटनगर । कोरोना भाइरसको विश्वव्यापी महाकारीका कारण चीनबाट हुने आयातमा गिरावट आएपछि  विराटनगर भन्सार कार्यालयले संकलन गर्दै आएको राजस्व समेत घटेको छ । 

गत वर्षको माघ मसान्तसम्ममा चीनबाट आयातित मालबस्तुबाट रू.३ अर्ब ७० करोड राजस्व उठेकोमा यो आवको माघ मसान्तसम्ममा रू.१ अर्ब ७८ करोड मात्र राजस्व संकलन भएको छ, जुन रू.१ अर्ब ९२ करोडले कमी हो । 

विराटनगर भन्सारका प्रवक्ता गोपी उप्रेतीका अनुसार फागुन महीनामा कोरोनाको बढी असर देखिएको छ । चीनबाट आउने सामान गत वर्षको तुलनामा फागुन महीना न्यून रहेको छ । जसका कारण माघको भन्दा राजस्व कम संकलन हुने उनले बताए । 


फागुन महीनाको तथ्यांक संकलन भइरहेकाले तथ्यांकका आधारमा अहिले नै भन्न नसकिएपनि गत वर्षको तुलनामा चीनबाट हुने आयातमा फागुन महीनामा भारी गिरावट आउने उनले बताए । 
 
गत वर्षको तुलनामा मालबस्तुको पैठारीमा माघ महीनाको अन्त्यसम्ममा ३१ प्रतिशतले कमी आएको छ । गत वर्षको माघ मसान्तसम्ममा रू.१२ अर्ब ३९ करोडको सामान आयात भएको यो आवको माघ मसान्तसम्ममा रू.८ अर्ब ५५ करोडको मात्र आयात भएको छ । अर्थात रू.३ अर्ब ८६ करोड मुल्यबराबरको सामान कम आयात भएको हो । चीनबाट हुने आयातमा ३१ प्रतिशतले कमी आएको छ । 

गत आवको माघ मसान्तमा चीनबाट आयात भएको सामग्रीबाट संकलित राजस्वले विराटनगर भन्सार कार्यालयले संकलन गर्ने राजस्वमा १६ प्रतिशतको योगदान गरेको थियो । तर विसं २०७६ माघ मसान्तमा घटेर ११ प्रतिशतको मात्र योगदान रहेको छ । भारतको योगदान भने ६८ प्रतिशत रहदैं आएको छ । 

विराटनगर भन्सारबाट नेपाल भित्रिने चिनियाँ सामानहरु खेलौना, स्टिलका भाडाँकुडाँ, जुत्ता, कपडा, स्याउ, विद्युतीय सामग्री, मेशिनरी लगायतका मालबस्तु हुन् । तर कोरोनाको कारण अहिले चीनबाट आउने बस्तुको आयातमा निकै कमी  भएको छ ।


लक्ष्यभन्दा कम राजस्व संकलन गर्दै आएको विराटनगर भन्सार कार्यालयले पाम क्रुड आयलको पैठारीबाट उठाउदै आएको राजस्वले केही भरथेग गरेपनि बीचमा पामको निकासी बन्द हँुदा त्यसले समेत राजस्व संकलनमा असर गरेको थियो । 

गत माघ १९ बाट पूर्ण रुपमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) संचालनमा आएपछि भने विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा लिइएको लक्ष्यमा झिनो सुधार गरेको छ । 

माघ महीनामा रू.३ अर्ब ६९ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले रू.२ अर्ब ८२ करोड मात्र राजस्व संकलन गरेको थियो, जुन ७६ दशमलव २७ प्रतिशत हो । तर एकीकृत भन्सार जाँच चौकीमा भन्सार कार्यालय सरेपछि दशमलव ५७ प्रतिशतको झिनो प्रगति भएको छ ।

फागुन महीनामा रू.३ अर्ब ९६ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा रू.३ अर्ब ४ करोड असुल भएको छ ,जुन ७६ दशमलव ८४ प्रतिशत हो । प्रवक्ता उप्रेतीका अनुसार माघ महीनाभन्दा फागुन महीनामा लक्ष्यमा रू.२२ करोड ६८ लाख प्रगति भएको हो । 

भन्सार नाका सील गरिएको छैन 

भारत सरकारले नेपालसँग जोडीएका केही नाकाबाट विदेशीहरुको प्रवेशमा लगाएको रोकलाई केही संचारमाध्यमले नाका शील भएको भन्ने प्रचार गरेपनि विराटनगर भन्सार आइतवार पनि सुचारु  भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)