ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनबाट सामान नआउँदा ३२ प्रतिशतले राजस्व घट्यो  

फागुनमा झन्डै ५ अर्ब राजस्व गुम्यो

२०७६ चैत, ४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कोरोना भाइरसको प्रकोपको कारण चीनबाट हुने आयातमा कमी आउँदा विराटनगर भन्सार कार्यालयले संकलन गर्ने राजस्वमा ३२ प्रतिशतले कमी आएको छ । चालू आवको फागुनमा गत आवको सोही अवधिको तुलनामा रू.४ अर्ब ७३ करोड राजस्व घटेको कार्यालयले बताएको छ । गत वर्षको फागुनमा रू. १४ अर्ब ७८ करोड राजस्व संकलन भएको थियो । 

कोरोनाको प्रभाव नभएको माघमा समेत रू. १ अर्ब ९२ करोड राजस्व कम संकलन भएको थियो । गत आवको माघमा चीनबाट आयात हुने मालबस्तुबाट रू. ३ अर्ब ७० करोड राजस्व उठेकोमा यो आवको सोही अवधिमा १ अर्ब ७८ करोड मात्र राजस्व संकलन भएको छ । 

विराटनगर भन्सारका प्रवक्ता गोपी उप्रेतीका अनुसार चालू आवको फागुनमा राजस्व संकलनमा कोरोनाको बढी असर देखिएको छ । चीनबाट आउने सामानबापत उठ्ने राजस्व गतवर्षको तुलनामा फागुनमा ३२ प्रतिशतले घटेको छ । 

गतवर्ष विराटनगर भन्सार कार्यालयबाट संकलित कुल राजस्वमा चीनबाट आयात भएका सामग्रीबाट संकलित राजस्वको योगदान ११ दशमलव १६ प्रतिशत थियो । यस वर्ष भने यो योगदान ८ दशमलव ७६ प्रतिशतमा सीमित भएकोे छ । 

चीनबाट मात्र होइन, फागुनमा भारतबाट हुने आयातमा समेत कमी आएको छ । आर्थिक वर्ष २०७५/२०७६ को फागुन मसान्तसम्म रू. ९५ अर्ब ९० करोड राजस्व संकलन भएको थियो । यो कुल राजस्वको ७२ दशमलव ३६ प्रतिशत हो । तर, यो फागुन मसान्तसम्ममा रू. ८१ अर्ब ८३ करोड मात्र राजस्व संकलन भएको छ, जुन ६७ दशमलव ७१ प्रतिशत हो । अघिल्लो वर्षभन्दा यो वर्ष रू. १४ अर्ब ४१ करोड कम राजस्व संकलन भएको छ । 

विराटनगर भन्सारबाट खेलौना, स्टिलका भाँडाकुडा, जुत्ता, कपडा, स्याउ, विद्युतीय सामग्री, मेशिनरी लगायत चिनियाँ मालवस्तु आायत हुन्छन् । तर, कोरोनाको कारण अहिले चीनबाट निकै कम वस्तु आयात भएको छ । 

चीन र भारत बाहेकका मुलुकबाट गत आवको फागुन मसान्तसम्ममा रू. २१ अर्ब ८३ करोड राजस्व संकलन भएको थियो । जुन विराटनगर भन्सारको कुल राजस्व संकलनमा १६ दशमलव ४८ प्रतिशतको योगदान हो । यो फागुन मसान्तसम्ममा चीन र भारत बाहेकका मुलुकबाट रू. २८ अर्ब ३१ करोड अर्थात २३ दशमलव ५३ प्रतिशत राजस्व संकलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा रू. ६ अर्ब ४८ करोडले वृद्धि भएको छ । ‘भारत र चीनबाट आयात हुने सामान घटिरहेको बेला तेस्रो मुलुकबाट आउने सामग्रीबाट राजस्व संकलन बढ्नुको कारण पाम र भटमासको अप्रशोधित तेलको आयात बढ्नु हो’ विराटनगर भन्सार प्रवक्ता उप्रेतीले भने । 

भन्सार आईसीपीमा सरेपछि राजस्वमा झिनो वृद्धि
माघ १९ बाट पूर्ण रूपमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा लिएको लक्ष्यमा झिनो सुधार गरेको छ । माघमा रू.३ अर्ब ६९ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा रू. २ अर्ब ८२ करोड मात्र राजस्व संकलन गरेको थियो । एकीकृत भन्सार जाँच चौकीमा भन्सार कार्यालय सरेपछि शून्य दशमलव ५७ प्रतिशतको झिनो प्रगति गरेको छ ।

फागुनमा रू.३ अर्ब ९६ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा रू. ३ अर्ब ४ करोड असुल गरेको छ । जुन ७६ दशमलव ८४ प्रतिशत हो । प्रवक्ता गोपी उप्रेतीका अनुसार माघमाभन्दा फागुनको लक्ष्यमा रू. २२ करोड ६८ लाख बढी राजस्व उठेको छ । 

नाका बन्द गरिएको छैन 
भारत सरकारले नेपालसँग जोडिएका केही नाकाबाट विदेशीको प्रवेशमा लगाएको रोकलाई केही सञ्चारमाध्यमले नाका बन्द भएको भन्ने प्रचार गरे पनि विराटनगर भन्सार सोमवार पनि सुचारु रह्यो । नेपाल र भारत दुवैतर्फ स्वास्थ्य परीक्षण गरेपछि आवतजावत सामान्य रहेको नेपाल प्रहरीका एसएसपी शेखर कोइरालाले बताए । उनले पश्चिम बंगालसँग जोडिएका मानेभञ्ज्याङ, श्रीअन्तु र पशुपति नगरबाट हुने आउजाउमा भने कडाइ गरिएको एसएसपी कोइरालाले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)