ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुलाको बीउ उत्पादनमा सल्यानका किसान आकर्षित

२०७६ चैत, ५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
वार्षिक करीब १८० क्वीन्टल मुलाको बीउ निकासी
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका किसान मुलाको बीउ उत्पादनमा आकर्षित भएका छन् । खाद्यबालीको तुलनामा छोटो समयमा राम्रो आम्दानी हुने भएपछि किसान बीउ उत्पादनमा लागेका हुन् । जिल्ला बाहिरबाट समेत माग बढ्दै गएपछि उनीहरूले व्यावसायिक रूपमै मुलाको बीउ उत्पादन गर्न थालेका हुन् ।  

जिल्लाको बरलाभट्टाचौर, ढोरचौर, मोख्ला, रागेचौर, भोटेचौर, लान्ती, लुहाम, बाँझकाँडा, कुमाख, दार्मा लगायत ठाउँका कृषकले मुलाको व्यावसायिक खेती गर्दै आएका छन् । यी ठाउँका प्रत्येक किसानले अहिले २ देखि ५ रोपनी जग्गामा मुलाखेती गरेका छन् । किसानले बीउका लागि लगाएको मुला फुल्न थालेपछि अधिकांश बस्ती सेताम्मे र मनमोहक देखिन थालेको छ । स्थानीय बजारमा मुलाको बीउ प्रतिकिलो २०० रुपैयाँमा विक्री हुने गरेको छ । 

शारदा नगरपालिका–२, जोगीदेखोलाकी किसान गीता नेपालीले गहुँबाटभन्दा मुलाको बीउबाट आम्दानी बढी हुन थालेपछि बीउ उत्पादनमा लागेको बताइन् । ‘मुलाको बीउ उत्पादन गर्न धेरै दुःख हुने भए पनि, आम्दानी राम्रो हुने भएकाले यसको खेतीमा लागेकोे हुँ,’ उनले भनिन् ‘गतवर्ष ४० दिने मुलाको बीउ विक्री गरेर करीब ४० हजार रुपैयाँ कमाइ गरेको थिएँ ।’ बीउ उत्पादनसँगै ताजा तरकारी पनि विक्री हुने भएकाले आम्दानी राम्रो भई रहेको छ । बीउ खरिदकर्ता बारीमै आउने भएकाले पनि बीउ विक्रीमा बजारको समस्या नभएको उनको भनाइ छ ।

जिल्लामा हावापानी राम्रो भएको धेरै सिँचाइ र गोडमेल गर्न नपर्ने भएकाले पनि किसान बीउ उत्पादनमा आकर्षित भएका कृषि विकास कार्यालय, सल्यानले बताएको छ । कार्यलयका अनुसार तरकारीभन्दा बीउ उत्पादनमा राम्रो आम्दानी हुने, खेर नजाने र वर्षेनि मूल्य बढ्दै गएकाले किसानको आकर्षण बढेको हो । 

जिल्लामा तरकारी खेती गर्दै आएका किसानमध्ये २० प्रतिशतले मुलाको बीउ उत्पादन गर्ने गरेका छन् । सल्यानी मुलाको बीउको माग विभिन्न जिल्लामा भएकाले किसान बीउ उत्पादनप्रति आकर्षित भएका कृषि विकास कार्यालय, सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले बताए । उनका अनुसार जिल्लाबाट वार्षिक करीब १८०  क्वीन्टल मुलाको बीउ जिल्ला बाहिर निकासी हुने गरेको छ । कार्यालयका अनुसार जिल्लाभर करीब ३०० रोपनीमा व्यावसायिक रूपमा मुलाको बीउ उत्पादन भइरहेको छ । मुलालाई सलाद, तरकारी र अचार बनाउन प्रयोग गरिने भएकाले यसको माग बढ्दै गएको कार्यालयको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)