चैत्र २०, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न उपलब्ध गराउने भएको छ । वीरेन्द्रनगर नगर कार्यपालिकाको बुधवारको बैठकले लकडाउनको अवधि २५ गतेपछि लम्बिएमा दैनिक ज्यालादारीका मजदूर परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले राहत वितरणका लागि प्रतिवडा रू. पाँच लाखको खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना भाइरसका कारण भएको बन्दाबन्दी (लकडाउन) को प्रभावलाई ध्यानमा राखेर नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको हो ।
दिनभरि काम गरेर दुई छाक जोहो गर्ने विपन्न परिवारको समस्याका लागि लकडाउन नहटेसम्मका लागि राहत उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । नगरपालिका अन्तर्गतका जनसम्पर्क बढी हुने टोलहरू, कार्यालय, स्वास्थ्य संस्था, अस्पताल, क्लिनिक र मुख्य बजार चोकहरूमा नगरपालिकाको दमकल मार्फत क्लोरिन छर्कने निर्णय गरेको छ ।
यसैगरी बन्दको कारणले साँझ बिहानको न्यूनतम खाद्य सामग्री खरीद गर्न घर बाहिर जान नसक्ने अवस्था भएमा वडावासीलाई घरबाटै खाद्य सामग्री खरीद गर्न सक्ने व्यवस्था मिलाइने ढकालले बताइन् ।