ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा तयार हुँदै पीपीई

२०७६ चैत, २३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

चैत २४, वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना भाइरस परीक्षण तथा संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई)को उत्पादन शुरू गरिएको छ । भाइरसको परीक्षणका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्रीको अभाव भइरहेको बेला सुर्खेतमै यसको उत्पादन शुरू गरिएको हो ।

 वीरेन्द्रनगरमा रहेका मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले पीपीई उत्पादन गर्न थालेका छन् । केन्द्र सरकारले उपलब्ध गराए पनि पर्याप्त नभएकाले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्थानीयस्तरमै पीपीई तयार गर्न निर्देशन दिएको थियो ।

सामाजिक विकासमन्त्री दल रावल र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा. नवराज केसीसँग समन्वय गरेर पीपीई उत्पादन शुरू गरिएको मुनाल गार्मेन्ट उद्योगका सञ्चालक भानुभक्त खड्काले बताए ।
सञ्चालक खड्काले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूले प्रयोग गर्ने गरी तत्काललाई दुई हजार थान गाउन तयार गरिरहेको जानकारी दिए । लकडाउनका कारण कच्चापदार्थ ढुवानीमा समस्या भएको उनको भनाइ छ । ‘यद्यपि सरकारसँग समन्वय गरी कच्चापदार्थ मगाउने काम भइरहेको छ,’ उनले भने ।  कामदारको सुरक्षासहित उद्योग सञ्चालन गरिएको उनको भनाइ छ ।

हालसम्म ५०० थान तयार गरिसकेको उनले बताए । प्रदेश अस्पतालका चिकित्सकको निर्देशनमा शतप्रतिशत गुणस्तरीय पीपीई तयार गरिएको दाबी उनले गरे ।
नेपाली सेनाका लागि आएको पीपीईको नमूना हेरेर कालिगडले स्वास्थ्यकर्मीका लागि पीपीई तयार गरिरहेका छन् । प्रदेश अस्पतालका चिकित्सक डा. केसीले पीपीई नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर कोरोना भाइरसको सम्भावित संक्रमण जाँच गरिरहेको बताए ।

अप्ठ्यारो परिस्थितिमा स्थानीय गार्मेन्टहरूसँग समन्वय गरेर पीपीईको उत्पादन शुरू गरिएको सामाजिक विकास मन्त्रालयको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)