चैत्र २४, वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाले झुप्राखोलाका विपन्न नागरिकलाई खाद्यान्न सामग्री वितरण गरेको छ । वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलामा बालुवा संकलन गरेर जीविकोपार्जन गर्दे आएका नागरिक कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित बनेका थिए ।
बालुवा बेचेर गुजारा गरिरहेका बडा नम्बर ११ (झुप्राखोला)का १०६ घरधुरीलाई खाद्यान्न वितरण गरिएको वीरेन्द्रनगर नगरपालिका–११ का अध्यक्ष नन्दलाल शर्माले जानकारी दिए ।
राहत वितरण गर्दै उप–प्रमुख मोहनमाया ढकालले यो संकटमा सबै सचेत भई सरकारको निर्णयलाई पालना गर्नुपर्ने बताइन् ।
नगरपालिकाले १६ वडाका करीब ८ हजार विपन्न नागरिकलाई खाद्य सामग्री उपलब्ध गराउने जानकारी उनले दिइन् । राहत वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले सबै नागरिकलाई बस्तीभन्दा बाहिर नगई सुरक्षित बस्न आग्रह गरे । कर्णालीको नाकामा पर्ने यो बस्तीमा जोखिम रहेकोले सबै नागरिक सतर्क हुन ढकालले आग्रह गरे ।
उक्त समुदायका लागि मध्यपश्चिमाञ्चल ट्रक तथा ट्र्याक्टर संघ र डीजी कन्स्ट्रक्शनका केदार शर्माले ५१ बोरा चामल, ५० केजी दाल र ५० केसी नून सहयोग गरेको वडा नं ११ का सदस्य अर्जुन सुवेदीले जानकारी दिए ।