ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामाजिक दुरी कायम गरेर चियापत्ति टिप्दै मजदूरहरु  

पहाडी क्षेत्रका उद्योगहरु संचालनमा 

२०७६ चैत, २८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
झापको दमकस्थित हिमालय टी स्टेटमा चियापत्ति टिप्दै गरेका मजदूरहरुको फाइल फोटो ।
author avatar वेदराज पौडेल

चैत २९, विराटनगर । स्थानीय तह, प्रशासन र चिया उद्योगबीच विश्वस्वास्थ्य संगठनले कायम गरेको मापदण्डमा रहेर चिया टिप्ने सहमति भएपछि यो सातादेखि चिया मजदूरहरुले चिया बगानमा चिया टिप्न शुरु गरेका छन् । 

पहाडी जिल्लाहरुमा अर्थाेडक्स चिया  टिप्ने यो शुरुआती  समय हो, जुन विश्वबजारमा अर्थाेडक्स चियाको रुपमा पैठारी हुने गर्छ । प्रदेश नं १ मा २५० साना ठूला चिया उद्योग छन् भने करीब ५० हजार मजदुर चिया कमानमा काम गर्छन् । 

चैतभित्र नै टिप्नुपर्ने आर्थोडक्स चियाको बजार यूरोप हो । लकडाउनको कारण मंहगोमा विक्री हुने चिया टिप्न ढिलाई हुँदा साना किसान  र मजदुर काम नपाउँदा एक साता अघिसम्म समस्यामा थिए । 

लकडाउन अघिको मजदूरको ज्याला उद्योगहरुले शुक्रवार वितरण गरेका छन् । काम र बक्यौता रकम पाएपछि मजदूरलाई दैनिकी चलाउन केही सहज भएको छ । उद्योगहरुले अहिले टिपेको चियालाई सुकाएर (वेदरिङ) गरेर भण्डारण गरिरहेका छन् ।

लकडाउन खुलेपछि पूर्णरुपमा प्रशोधन गर्ने तयारीमा उद्योगहरु छन् । 
इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले विश्व स्वास्थ्य संगठनले जारी गरेको सतर्कता र सामाजिक दुरी कायम गर्दै सातादेखी मजदूरहरुले चिया बगानमा काम गर्न थालेको बताए । 

उनका अनुसार एक देखि दोश्रो मजदुरबीच तीन मिटरको दुरी कायम गरेर चिया टिप्ने काम भइरहेको छ । कामदारले सुरक्षाका लागि हातमा पंजा, मास्क र सेनेटराईजको प्रयोग गरिरहेका छन् । सूर्योदय नगरपालिकामा ६३ ओटा चिया उद्योग छन् भने करीब १ हजार ३०० मजदूर काम गर्छन् ।
 
कन्याम चिया कमानमा काम गर्ने मजदूर रमेश खड्काले एक साताबाट कोरोना भाइरसको  संक्रमण सम्बन्धि जानकारी दिएर सुरक्षित रुपमा काम गर्नेगरि आफूहरुले चिया टिप्न शुरु गरेको बताए । 
 

न्याम चिया कमानमा ६९ जना स्थायी मजदूर र १०० जना ज्यालादारीमा काम गर्छन् । स्थानीय तहले चिया मजदूरलाई अहिलेसम्म राहत वितरण नगरेको तर उद्योगले भने वितरणको तयारी गरिरहेको उनले सुनाए ।  

उनले भने, ‘साता अघिसम्म निकै ठूलो समस्या थियो, उद्योग बन्द थियो काम गरेको ज्याला पनि पाइएको थिएन, निकै कठिनाइबाट गुज्रदै गर्दा उद्योग खुल्दा काम पाइयो, रोकिएको पैसापनि पाएपछि तत्काललाई समस्या केही हल भएको छ ।’

अर्का चिया मजदूर होम रिजालले पनि चिया मजदूरले कतैबाट राहत नपाएको गुनासो गरे । रोकीएको ज्याला पाएपछि घर चलाउन भने केही राहत भएको उनलको भनाइ थियो ।

तराई क्षेत्रका मजदूरहरुले दोश्रो चरणको राहत पाउने बेलासम्म आफुहरुले राहत नपाएको गुनासो गरे । तर वडाध्यक्ष सहितको टोली आएर मजदूरको लगत भने लिएर गएको उनले सुनाए । 

सूर्योदय नगर पालिकाका मेयर राईले भने सबै वडाबाट मजदूरहरुको लगत संकलन गरिसकिएको र अब क्रसचेक गरेपछि वडा–वडाबाटै चिया मजदूरलाई राहत वितरण गरिने जानकारी दिए । 

क्ञ्चनजंघा टी स्टेट पाँचथरका प्रवन्धक निरानन्द आचार्यका अनुसार ५ दिनदेखि उद्योग सञ्चालनमा आएको छ । स्थानीय प्रशासन र स्थानीय तहको स्वीकृतीपछि कोरोनाको संक्रमणबाट बच्ने विधिहरु अपनाएर उद्योग संचालनमा ल्याइएको उनले बताए । 

चिया टिप्ने र हाललाई ड्राई गरेर राख्ने काम गरिएको छ । चियाको पहिलो टिपाईमा लकडाउनले गर्दा उद्योगहरु लाखौं रकम नोक्सानीमा रहेको उनले बताए । 

अर्थाेडक्स चियाको बजार यूरोप, अमेरिका, चीन र जापान रहेपनि अहिले कोरोनाको कारण त्यहाँ समेत लकडाउन भएकाले चियाका मुनालाई ड्राई गरेर थन्क्याउने काम मात्र भइरहेको छ ।   

लर्डबुद्ध चिया उद्योगका संचालक लाक्पा दोर्जे कागतेका अनुसार अहिले चिया किसान र चिया उद्योगहरुले चियाको पहिलो टिपाई गरिरहेका छन् । उद्योगहरु पूर्णरुपमा संचालनमा नआएपनि चियालाई नबिग्रीने गरि सुकाएर भण्डारण गर्ने काम भइरहेको छ । जसका कारण भोली लकडाउन खुलेपछि चिया तयार गर्न कच्चा पदार्थको कमी हुन दिदैन ।

लकडाउन कहिले खुल्ने भन्ने अन्यौल कायम रहँदा बजारको आशा निकै कम रहेका कारण सरकारले नै उत्पादनको बजारीकरण र अनुदानका लागि पहल गरिदिनु पर्ने  उनले बताए ।
 
नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले प्रदेश १ मा रहेका ठूला र सानागरि करीब २५० चिया बगानमा स्थायी र अस्थायी रुपमा मजदूरी गर्ने करीब ५० हजार श्रमिक रहेको जानकारी दिए ।

पहाडी क्षेत्रमा अर्थाेडक्स चिया टिप्नका लागि मजदुर काममा फर्किएपनि तराईका सीटीसी चिया उद्योगहरु भने संचालनमा आउन नसकेको उनले बताए । तर चिया बगानमा पानी हाल्ने र औषधि छर्ने काम भइरहेको उनले जानकारी दिए ।  

नेपालमा १ करोड ६० लाख ३६ हजार सीटीसी, २६ लाख ७० हजार अर्थोडक्स, २ लाख २० हजार ग्रीन टी तथा ३२ हजार किलो स्पेसियाल चिया उत्पादन हुने गरेको छ ।

प्रशोधन उद्योग सञ्चालकका अनुसार चार किलो हरियो चियापत्तिबाट एक किलो तयारी चिया बन्छ । अर्थोडक्स चियाको हरियो पत्ती प्रतिकिलो रू.८० र अन्य रू.४०  प्रतिकिलो किसानले उद्योगलाई विक्री गर्दै आएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)