ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाद्यान्न बाहेकका उद्योग संचालन हुने वातावरण अझै बनेन

घरमा बसेका मजदूरलाई पनि तलब दिनु भन्ने निर्देशनले उद्योग संचालनमा बाधा 

२०७७ बैशाख, २  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा रहेको एक चामल उद्योगको फाइल फोटो ।
author avatar वेदराज पौडेल

वैशाख २, विराटनगर । सरकारले घरमा बसेका मजदूरहरुलाई समेत तलब दिनु पर्ने निर्देशन जारी गरेपछि सुनसरी– मोरङ औद्योगिक करिडोरका खाद्यान्न बाहेकका ४०० ओटा उद्योग संचालन हुने वातावरण अझै बन्न सकेको छैन । 

लकडाउन जारी रहँदा पछिल्लो समय सरकारले अन्य उद्योगसमेत संचालन गर्न गरेको आग्रह कार्यान्वयन नहुने स्थिति देखिएको छ । सुनसरी– मोरङ औद्योगिक करिडोरमा ५०० उद्योग छन् । 

उद्योग संचालन गर्छौं काम गर्न आऊ भन्दा हामीलाई कोरोना संक्रमण भयो भने को जिम्मेवार हुन्छ भनेर उल्टै मजदूरले प्रश्न गर्ने गरेको एक उद्योगी बताउँछन् ।

 ‘सरकारले भनेअनुसारको सामाजिक दुरी कायम गरेर विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा अपनाएर उद्योग संचालन गर्न खोज्दा पनि घरबाट मजदुर उद्योगसम्म आउन मानिरहेका छैनन् उद्योग संगठनका अध्यक्ष भीम घिमिरे भन्छन्, ‘उद्योग काम गर्दा पनि उतिनै तलब अनि घरबस्दा पनि उत्तिनै तलब पाउने व्यवस्था सरकारले गरेकाले अति आवश्यक खाद्यान्न बाहेकका उद्योग संचालन गर्न कठिनाइ भएको हो ।’

स्थानीय प्रशासन र प्रदेश सरकारबीच समन्वय नहुँदा शुुरुका दिनमा उद्योग संचालनमा बाधा पुगेको उनी बताउँछन् । कतिपय उद्योगमा यो समयमा पनि काम गर्न  आइरहेका मजदूरलाई प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा कुटपिट गरेपछि झनै  समस्या बल्झिएको छ ।

स्थानीय प्रशासनले कामदारका लागि पास जारी गर्न नसकेका कारण मजदूर काममा आउन नसकेको दाबी उनको छ । ‘उद्योग बन्द छन्,सरकार घर बसेका मजदूरलाई तलब दे भन्छ, फेरि उद्योग पनि संचालन गर भन्छ, घरमै बस्दा काम नै नगरि तलब पाउने भएपछि मजदूर काम गर्न उद्योग कसरी आउँछन् ? घिमिरेले प्रतिप्रश्न गरे । 

उद्योग संचालनका लागि सुरक्षा, बजार र कच्चा पदार्थ निर्वाध ढुवानी गर्ने वाताबरण नरहेको र कोरोनाको संक्रमण समेत बढीरहेको अवस्थामा उद्योग संचालन गर्न अहिलेनै सकिने अवस्था नरहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । 

प्रशासनले मजदूरलाई पास दिनुपर्ने, उद्योगसम्म आउजाउको लागि सुरक्षाको वातावरण  बनाउनुपर्नेे, सामान ओसारपसारका लागि मालबाहक गाडी संचालन हुने वातावरण नबनेसम्म उद्योग खोल्न सकिने अवस्था नरहेको उनले बताए । बन्द उद्योगले घरमा बसेका मजदूरलाई तलब दिने बिषय निकै कठिन भएकाले यो निर्णयलाई पुनः बिचार गरिनु पर्ने मुन्दडाले बताए ।  

उनका अनुसार यसक्षेत्रका अति आवश्यक बस्तुका उद्योग खाद्यान्न, औषधि, अक्सिजन लगायतका उद्योगहरु समेत निकै कठिनाइका साथ संचालनमा रहेका छन् ।

ती उद्योगबाट हालैका दिनमा ४० प्रतिशत मात्र उत्पादन भइरहेको छ । मजदूरलाई स्वास्थ्य सुरक्षा सम्बन्धि सतर्कताको एउटा मापदण्ड बनाएर सरकारले उद्योगहरु संचालनको वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।

 
अर्का उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास बोहोराले उद्योग संचालन  गर्छौं भनेर ताला खोलेर मात्र उद्योग संचालनमा नआउने बताए ।

उद्योग संचालन हुन त्यस उद्योगलाई चाहिने कच्चा पदार्थ उत्पादन गर्ने उद्योग पनि खुल्नु  आवश्यक रहेको उनको भनाइ छ ।उनका अनुसार चामल उद्योग संचालनमा ल्याउँदा त्यसलाई चाहिने बोराको उत्पादन गर्ने उद्योग पनि खुल्नु आवश्यक छ ।

उनले भने, ‘तेल उद्योग संचालन गर्दा त्यसलाई चाहिने कार्टुन बनाउने उद्योग पनि खुल्ने वातावरण बन्न सकेमा मात्र उद्योग खोल्न सकिने र त्यसका लागि मजदूरलाई आउने–जाने पास, सुरक्षा व्यवस्था, उद्योगको उत्पादन बजारसम्म पुग्ने वातावरण बन्नु आवश्यक छ ।’
  
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लकडाउन पनि कडा बनाउनु पर्ने र उद्योग पनि संचालन गर्नुपर्ने अवस्थाबीच सन्तुलन कायम गर्न शुरुका केही दिन अलि अफठ्यारो परेको बताए । तर पछिल्लो समयमा उद्योगहरुका मजदूरको परिचयपत्र हेरेर छाड्ने, अति आवश्यक साधनलाई आउजाउ गर्न दिने गरिएको उल्लेख गरे ।

उनले भने, ‘शुरुका दिनमा कार्यान्वयन गर्ने नेपाल प्रहरीको तल्लो निकाय प्रष्ट नहुँदा समस्या भएपनि अहिले उद्योग संचालनमा समस्या छैन ।’

उद्योगले मजदूर आउ–जाउका लागि बस प्रयोग गर्ने भएपनि बसको पास दिन प्रशासन तयार रहेको तर प्रत्येक मजदूरलाई पास दिन भने सम्भव नभएको उनले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)