ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना कहरमा उद्यमी :  नयाँ शुरु हुन सकेनन्, पुरानाको रोकियो क्षमता विस्तार  

२०७७ बैशाख, ३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

वैशाख ३, विराटनगर ।  मोरङ र सुनसरी जिल्लामा वैशाख महीनाभित्रै संचालन गर्ने लक्ष्य राखेका नयाँ उद्योगहरु अहिले लकडाउनको मारमा परेका छन् । युवा उद्यमीहरुले उद्योग स्थापना गर्न लगानी गरेको अर्बाैं रुपियाँको लगानी जोखिममा परेको तथा बैंकको व्याजको भार पनि थपिएको उनीहरुले  बताएका छन् । 

विराटनगरका युवा व्यवसायीहरुको अर्को समूह  अमेरिकी कम्पनी आरसी कोलाका ६ प्रकारका पेय पदार्थलाई नेपाली बजारमा वैशाख महीनादेखि ल्याउने तयारीमा थियो । रू.८० करोडको लागतमा मकवानपुरको मनहरी गाउपालिका ६ सुनाचुरीमा भेन्चुरा बोटलर्स नामको उद्योग स्थापना गरि छ ओटै पेय पदार्थको परिक्षण उत्पादन समेत गरिसकिएको थियो । 

विराटनगरका उद्धवप्रसाद आचार्य नेतृत्वको दुर्गालक्ष्मी समूहले फ्रेञ्चाइज लिएर आरसी कोला ब्राण्डका पेयपदार्थ नेपाली बजारमा ल्याउने अन्तिम तयारी गरेको थियो ।

तर कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गतेबाट गरेको देशव्यापी लकडाउनको असर उनीहरुको उद्योगमा समेत पर्‍यो । बैंकको व्याज र उद्योगका कर्मचारीलाई तलब दिनसमेत अहिले उनीहरुलाई सोच्नु पर्ने अवस्था आएको छ । 

‘बजारमा उत्पादन ल्याउनै पाइएन, अब लकडाउन खुल्दा खुल्दै बर्षात शुरु हुन्छ जुन समय पेयका बजारका लागि राम्रो मानिन्न,’ उनले भने ।

‘चिसो पेयको बजार चैत अन्तिमदेखि जेठ अन्तिमको तीन महीनामात्र रहेको त्यो बेलामा बजारमा पुग्न नसक्नु भनेको जिति सकेको खेल हार्नु जतिकै हो ।’ 

सञ्चालक आचार्यका अनुसार भेन्चुरामा प्रभु बैंकको रू.८० करोड ऋण लगानी छ । भेन्चुराले कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जिराको स्वादमा पेयपदार्थ र माउन्ट भिटा ब्रान्डमा पानीको उत्पादन र बजारीकरण गर्ने अन्तिम तयारी गरिसकेको थियो ।

जर्मनी, फ्रान्स र अमेरिकाबाट झिकाइएका मेसिन जडान गरि परिक्षण उत्पादनसमेत सकेर बजारमा जाने अन्तिम तयारी हुँदाहुदै भएको लकडाउनले दा“तमा ढुंगा लागेसरह भएको आचार्यले बताए । स्थायी कर्मचारी २० जना रहेपनि १५० जनाले रोजगारी पाउने अवसरसमेत केही दिनलाई पछि सरेको उनले खुलाए । 

त्यस्तै, इटहरीका युवा उद्यमी विनोद पौडेलले रू.६० करोडको लगानीमा तालतलैयामा छ विगाहाको क्षेत्रफलमा सुविधा सम्पन्न वाटर पार्क चैतमा निर्माण सम्पन्न गरेका थिए । नयाँ वर्ष अगाडीनै खोल्न ठिक्क पारिएको वेट एण्ड डाइनो एम्युजमेन्ट एण्ड वाटर पार्क (ईपील्याण्ड) लकडाउनकै कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

काठमाडौं बाहिरको सबैभन्दा ठूलो लगानीमा खुल्न लागेको उक्त वाटर पार्कमा ५० जना कर्मचारीहरु कार्यरत छन् । आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गरी स्थापना गरिएको पार्क सञ्चानल नै हुन नपाएपछि आर्थिक भार परेको उनले गुनासो गरे । लकडाउनको कारण आम्दानी नभएपछि कर्मचारीको तलब र बैंकको ब्याज तिर्न निकै हम्मे परेको उनको भनाइ छ ।

उता, नेपालमा चप्पलको उत्पादन गर्ने विराटनगरको म्याजिक समूहले काठ र प्लाइउडको विकल्पमा प्रयोग गर्ने गरी ‘प्लास्टिक बेस’ वस्तुको उत्पादन र मार्केटिङ शुरु गर्दागर्दै लकडाउनकै कारण उत्पादन नै ठप्प पार्ने अवस्थामा पुर्‍यायो । 

इटहरी उपमहानगरपालिकाको खनारमा रहेको उक्त समुहको वन्डर म्याटेरियलले ‘अल्टवुड’ ब्रान्डमा पीभीसी र डब्लूपीसीको चौखट बजारमा पुर्‍याउने तयारीमा थियो । करीब रू.२५ करोडको लागतमा स्थापना गरिएको नयाँ उद्योग बन्द गर्नु परेको उद्योगका प्रबन्धक महेश बाहेतीले बताए । 

नया“ उद्योग मात्र होइन पुराना उद्योगहरु पनि आफ्नो क्षमता विस्तार गर्दागर्दै लकडाउन भएपछि मारमा परेका छन् । रिजाल ग्यास कम्पनीका सञ्चालक तथा मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष नविन रिजालले ग्यास उद्योग बढाउन ग्यास संचित गर्ने तीन ठूला बुलेट ल्याएका थिए । 

‘संचालन गर्न नै नपाई लकडाउन भएपछि रू.५ करोडको लगानी त्यतिकै भयो’, उनले भने । ५० जनालाई रोजगारी दिनसक्ने गरि प्लान्ट थप गर्न लागेका उनलाई बैंकको ब्याजको भार थपियो ।

 कोरोनाको समस्या यसरी महामारीकै रुपमा आउला भन्ने कल्पना नगरेका उद्योगीहरुले अहिले दैनिक घाटा व्यहोर्नुु परेको छ भने दैनिक रुपमा बढीरहेको बैंकको व्याजका कारण मानसिक तनाव पनि खप्नु परेको छ । ‘सरकारले सहि ढंगले सम्बोधन गरेन भने उद्योगहरुको भविष्य राम्रो छैन,’ रिजाल भन्छन् ।

उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष सुयस प्याकुरेलले युवाहरुले स्थापना गरेका नयाँ उद्योग मात्र होइन संचालनमा रहेका उद्योगसमेत लकडाउनको कारण समस्यामा रहेको बताए ।

संचालनमा रहेका उद्योगले यो सिजनमा नै राम्रो व्यापार गर्ने भएकाले कच्चा पदार्थमा लगानी बढाएको बेला भएको लकडाउनले सबैलाई समस्यामा पारेको बताए ।

‘उद्योगले आफ्ना मजदूरलाई घरमा नै बसेर पनि तलब दिनुपर्छ,’ उनले भने । मजदूर समस्यामा पर्दा उद्योगीले हेर्नु पर्ने र उद्योगी समस्यामा पर्दा बैंकले आफ्ना सेवाग्राहीलाई हेर्नु पर्ने प्याकुरेलको भनाइ छ । 


 
 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)