ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाना र बजार नपाएपछि खोरमै मर्न थाले कुखुरा, व्यवसायी मारमा

२०७७ बैशाख, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

वैशाख ७, सल्यान । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि सल्यानमा पोल्ट्री व्यवसाय संकटमा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्नै छाडेपछि किसान र व्यवसायी मारमा परेका हुन् । 

माछा मासुबाट पनि भाइरस सर्छ भन्ने मान्यता र कुखुराका लागि दानाको अभाव हुँदा व्यवसाय नै संकटमा परेको छत्रेश्वरी गाउँपालिका ६ रानागाउँमा व्यवसायिक कुखुरापालक किसान लोकराज भण्डारीले बताए । 

‘लकडाउन’कै कारण १० लाख घाटा व्यहोर्नु परेको उनको भनाइ छ । उनले भने, ‘म सँग अहिले २ हजार कुखुरा छन्, दिनमा १० देखि १५ हजार रुपैयाँको दाना लाग्छ, तर दिनभर १०० पनि आम्दानी भइरहेको छैन ।’ दानाको अभावका कारण झन्डै १ हजार ६०० कुखुरा मरिसकेको उनले बताए । 

यस्तै २ हजार ५०० कुखुरा पालन गर्दै आएका श्रीनगरका  व्यवसायी हिमाल यात्रीले दानाको अभावका कारण कुखुरा मर्ने अवस्थामा पुगेका बताए । विगतमा सप्लायर्सले कुखुराको चल्ला र दाना उपलब्ध गराउदै आएको भए पनि ‘लकडाउन’ पछि सप्लायर्सले दाना उपलब्ध गराउन नसकेको बताए ।

विगतमा ३ हजार २०० मा किनेको दाना अहिले ३ हजार ६०० मा किन्नु पर्ने बाध्यता र महँगोमा पनि दाना नै पाउन नसकेको उनको भनाइ छ । बजार लैजान तयार भएका कुखुरा विक्री नहुँदा र साना कुखुराले दाना खान नपाउँदा झन्डै ६ लाख घाटा लागेको उनको भनाइ छ । 

सल्यानमा ११२ मासु पसल रहेका छन् भने ८२ ब्रोइलर व्यवसायी, ८ जना लोकल कुखुरा व्यवसायी, ७ जना लेयर्स व्यवसायी रहेका छन् । कुखुरापालक किसानहरूका अनुसार बजारमा लैजान तयार भएका कुखुरालाई दाना पुर्‍याउन समस्या भएपछि भुस र माटो खाँदा फार्ममै कुखुरा मरिरहेका छन् । 

जिल्लामा चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा ४३ दशमलव ९२ प्रतिशत अण्डा खपत भएकोमा अहिले यो परिमाण ह्वात्तै घटेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख धन बहादुर बानियाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)